साहित्यमा मार्क्सवाद

साहित्यमा मार्क्सवाद

avaya-shrestha

अभय श्रेष्ठ

नेपालमा कम्युनिस्ट विचारधारा बोक्ने लेखकहरूको एउटा साझा संस्था छ, प्रगतिशील लेखक संघ (प्रलेस)। यसले मार्क्सवादी साहित्य, संस्कृति, जीवनशैली र राजनीतिको वकालत गर्छ। श्यामप्रसाद शर्मा संस्थापक अध्यक्ष रहेको प्रलेसमा हाल कवि तथा प्राज्ञ अमर गिरीको नेतृत्व छ। प्रलेसको अवदान र कमजोरीहरू केके हुन् ? यसको संरचना र गठन प्रक्रियामा अघोषित कोटा प्रणाली कति ठीक ? लेखकलाई संगठन चाहिन्छ कि चाहिन्न ? यस्ता प्रश्नहरूबारे बेग्लै चर्चा गर्न सकिन्छ। तर, प्रलेसको १०औँ केन्द्रीय अधिवेशनको तयारी भइरहँदा नेपाली मार्क्सवादी साहित्यबारे चर्चा गर्नु सान्दर्भिक हुन्छ।

मार्क्सवादी साहित्य
जर्मन दार्शनिक तथा राजनीति–अर्थशास्त्री कार्ल मार्क्सको विचारलाई ‘मार्क्सवाद’ भनियो। संसारका समाजवादीहरू मार्क्सकै विचारका आधारमा न्यायपूर्ण समाजको सपना देख्छन्। मार्क्सवादले न्याय प्राप्त गर्ने वैज्ञानिक दृष्टिकोण दिन्छ। क्षमताअनुसार काम लिने र आवश्यकताअनुसार ज्याला दिने मार्क्सले परिकल्पना गरेको न्याय व्यवस्था हो। न्याय त्यसलाई चाहिन्छ जो अन्यायमा परेको हुन्छ। नोबेल पुरस्कार विजेता एल्पि्र्कड जेलिनेकका शब्दमा भन्ने हो भने साहित्य कमजोरहरूको पक्षधर हुन्छ। अन्यायमा परेकाहरू, पछाडि पारिएकाहरूको पक्षमा लेखिने, तिनलाई जागृत पार्ने साहित्य नै मार्क्सवादी साहित्य हो। मार्क्सवादीहरू त्यस्तो समाजको सपना देख्छन् जहाँ राष्ट्रपतिका सन्तान र साधारण किसानका सन्तान एउटै विद्यालयमा पढ्न पाऊन्।

मार्क्सवादलाई शब्दमा होइन, सारमा बुझ्नु जरुरी छ। संसारमा ९० प्रतिशतभन्दा बढी मान्छे हाड घोटिने गरी पसिना बहाउँछन् तर तिनको हातमा सम्पत्ति छैन, सम्पत्ति आर्जन गर्ने माध्यम उत्पादनका साधनहरू पनि छैनन्। १० प्रतिशतभन्दा कम मान्छेका हातमा उत्पादनका साधन छन्। ९० प्रतिशत मान्छे धर्म, जाति, अन्धविश्वासलगायत अनेक नाममा विभाजित छन्। १० प्रतिशत मान्छेचाहिँ लुट्ने, शोषण गर्ने, अत्याचार गर्ने मामलामा एकजुट छन्। जब ९० प्रतिशत मान्छे न्यायका लागि एकजुट हुन्छन्, लुटिखाने १० प्रतिशत मान्छेको केही जोर चल्दैन। कति सजिलो भाषामा मार्क्सले न्याय प्राप्त गर्ने वैज्ञानिक दृष्टिकोण दिएका छन्। मार्क्सवादले गरिब वर्गको शासन स्थापित गर्ने उपाय सिकाउँछ। न्यायका पक्षधर र भौतिकवादी दृष्टिकोण राख्ने हरेक व्यक्ति मार्क्सवादको यही अवधारणालाई ग्रहण गर्छन्। मार्क्सले जसरी हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादलाई ग्रहण गरेर आफ्नै सिद्धान्त बनाए, स्रष्टाले पनि त्यसैगरी न्यायचेतलाई सिर्जनामा प्रयोग गर्छन् भन्ने धारणा प्रगतिशील लेखकहरूले राख्ने गरेका छन्।

बिक्ने र टिक्ने लेखक
भेनेज्वेलाकी प्रसिद्ध अभिनेत्री एलिसिया क्याकाडोले भनेकी छन्, ‘ग्लामर अस्थायी हो, चेतना स्थायी।’ एउटी ग्लामरस अभिनेत्रीबाट आएको यो आत्मस्वीकृति प्रशंसनीय छ। यही ऐनामा कस्मेटिक र कालजयी लेखनको प्रतिबिम्ब हेर्न सकिन्छ। नेपाली मिडिया र पुस्तक बजारमा अहिले कस्मेटिक लेखनलाई केन्द्रमा राखिएको छ। यस्तो लेखनको प्रवर्द्धनमा पुस्तक प्रकाशक, बिक्रेता, दलाल, मिडियाकर्मी, ठुटे समीक्षक, एलिटिस्ट डेमोक्रेट र निखिल हल्लाबाजहरूको अघोषित गठबन्धन छ। खासमा सिर्जनाको उद्देश्य प्रगतिशील र परिवर्तनकारी चेतना फैलाउनु हो। यो चेतना नभएको सिर्जना धार नभएको खुकुरीजस्तै हुन्छ। आम सञ्चारको कुरा पत्याउने हो भने आजभोलि गम्भीर र वैचारिक लेखकभन्दा बढी विचारसँग कुनै वास्ता नराख्ने लेखक बिक्छन्। यसमा अलि बढी हल्ला र अपवाद स्तरमा सत्यता छ। हिटलरका सञ्चार मन्त्री गोयबल्स भन्थे, झुट पनि सयचोटि बोल्यो भने सत्य हुन्छ। त्यही अभ्यास यहाँ केही प्रकाशक र मिडियाले केही लेखकका हकमा गरेका छन्। अर्को कुरा, लेखकले बजारमा जे बिक्छ, जुन कुरा प्रिय हुन्छ त्यही लेख्ने हो कि आफूले देखेको सत्य स्थापित गर्ने हो? ध्यान दिनुपर्ने कुरा यही नै हो।
Pralesa Logoएकथरी लेखक, कलाकार हुन्छन् जसको ध्येय बिक्नुमात्र हुन्छ। अर्काथरी हुन्छन्, जो आन्दोलनको जग निर्माण गरिरहेका हुन्छन्, विचार सिर्जना गरिरहेका हुन्छन्। भारतमा ‘दिलवाले दुल्हनियाँ ले जायंगे’ नामको लफंगा फिल्म एउटै हलमा लगातार २० वर्ष चल्यो। त्यसले ‘सोले’ को रेकर्ड ब्रेक गरिदियो। तर, गौतम घोषको ‘पार’ कति चल्यो? मृगया, भुवन सोम, ‘हजार चौरासी की माँ’, ‘आक्रोश’, अर्धसत्य, निशान्त, अंकुर, अर्थजस्ता सार्थक फिल्मले कति व्यापार गरे ? संसारमै सम्मानित सत्यजीत रेका फिल्मबारे कति भारतीयलाई थाहा छ? यी प्रश्नको जबाफ सकारात्मक आउँदैन। साहित्यमा पनि यही कुरा लागु हुन्छ। बजारको चाहनाअनुसार लेख्नु त स्वत्व गुमाउनु र दास हुनु हो। सत्य उत्खनन गर्ने लेखकले अलोकप्रिय हुने जोखिम मोल्नैपर्छ। जस्तो कि न्याय पक्षधर लेखकले, अन्याय र बेथितिविरुद्ध मातिएर आक्रोशमा लाजभाँड बक्ने शूद्रको कथा लेख्छ। बजारलाई यस्ता विद्रोह र आक्रोशका राजनीतिक कुरा मन पर्दैन। बजारलाई आहुतिको ‘गहुँगोरो अफ्रिका’ जस्तो दमदार विद्रोही कविता पनि मन पर्दैन। उसलाई त फूलबुट्टे शब्दको रामरमिता भरिएको कविता मन पर्छ। उसलाई उमेरमा वनपाखामा डुल्दै समवयी युवतीसँग गरेको रामरमाइलो प्रिय लाग्छ। उसलाई त शबाना आजमीको जोडदार फिल्मभन्दा सन्नी लियोनको ब्लु फिल्म सुन्दर लाग्छ।

हो, आधुनिक युगमा बजारलाई बेवास्ता गर्न सकिन्न। तर, बजार मानिसका लागि हो। मानिस बजारका लागि होइन। त्यसैले बजारले मानिसलाई होइन, मानिसले बजारलाई नियन्त्रण गर्नु जरुरी छ। लेखक संगीत श्रोताको विचारमा साहित्यको बजारीकरणविरुद्ध बोल्नुपर्ने संस्था प्रलेस नै हो। वैचारिक लेखनको ध्येय बिक्नु होइन, आन्दोलनको जग बनाउनु हो। उसले पनि आफू बढीभन्दा बढी पाठकसम्म पुग्ने भाषा र शिल्प भने पक्रनैपर्छ। त्यसका लागि आफूलाई बजारको चाहनाअनुसार ढाल्ने होइन, बजारमाथि कब्जा जमाउने हो।

विनिर्माणको दुस्साहस
अप्रिल आन्दोलनका क्रममा सुनाइएका सडक कविता आज पढ्दा किन बासी लाग्छन्? किनभने तिनमा जनसमुदायलाई तताउने ठाडा शब्दहरू थिए। गोपालप्रसाद रिमालको सबैभन्दा प्रसिद्ध कविता हो– आमाको सपना। त्यसमा कविले राणा शासन पतनको सपना देखेका हुन्। त्यसलाई आमाको सपनाको बिम्बमा लेख्दा यो कालजयी कविता बन्यो।

स्वनिर्मित र परम्परागत नायक–खलनायकको अवधारणामा बाँधियो भने लेखनको रंग कृत्रिम हुन्छ। नोबेल साहित्य पुरस्कार विजेता रुसी लेखक मिखाइल सोलोखोबको एउटा कथा ‘जन्मचिह्न’ मा भांग्रेलको प्रतिक्रान्तिकारी सेना आतामान नायक छ। अञ्जानमा आतामानको हातबाट उसैको छोरा मारिन्छ जो इमानदार कम्युनिस्ट थियो। जडतावादी प्रगतिशीलहरूले यसलाई प्रतिगामी कथा भन्न सक्छन् किनभने यसमा क्रान्तिको रक्षक इमानदार युवकको दुःखद् अन्त्य छ। सोलोखोबकै अर्को कथा ‘पराई रगत’ मा ग्राम सोभियतका लागि रसद अन्न बटुल्दै हिँड्ने कम्युनिस्ट युवकप्रति खराब धारणा राख्ने बूढा गाब्रिला नायक छ। प्रतिक्रान्तिकारीको आक्रमणमा परेर कम्युनिस्ट युवक मृत्युको संघारमा पुग्छ। बूढा गाब्रिलाको दम्पती त्यस युवकलाई बचाउँछन् र प्रतिक्रान्तिमा लागेर क्रान्ति रक्षकद्वारा मारिएको आफ्नै छोराको दर्जामा उसलाई राख्छन्। तर, पूरै निको भइसकेपछि त्यो युवक सहरमा आफ्नै कारखाना फर्कन्छ। साहित्यमा जडताको अन्त्य यस्तो स्वाभाविक प्रस्तुतिले मात्र हुन सक्छ। चिनियाँ लेखक लु सुनको प्रसिद्ध कथा ‘आह क्युको साँचो कथा’ को अन्त्यमा नायक आह क्यु क्रूरतापूर्वक मारिन्छ। आह क्यु गरिब र सर्वहारा वर्गको युवक हो। तथापि ऊ अनुशासित, नैतिक र उन्नत संस्कृति भएको मान्छे होइन। उसको विद्रोह पनि सचेत छैन। सचेत, उन्नत, नैतिक र सही दृष्टिकोण नहुँदा हरेक विद्रोहीको यस्तै दुःखद् अन्त्य हुन्छ। यो कथा स्वाभाविक र उन्नत लेखनको सुन्दर नमूना हो।

प्रगतिशील लेखन नेपालको मात्र नभई संसारकै लेखनको मूलधार हो। तर, यसले परम्परागत अवधारणा भत्काउने दुःसाहस गर्नु जरुरी छ। आख्यानमा उदय प्रकाश, मनु ब्राजाकी, राजव, नारायण ढकाल अनि कवितामा ल्यांग्सटन ह्युज, माया एन्जेलो, बे्रख्त, नाजिम हिक्मत, धूमिल, विमल निभा, श्यामल, गोविन्द वर्तमान यस सन्दर्भमा मलाई स्मरणीय लाग्छन्।

साभार : इमूल्यांकन डटकम

Trending News