काठमाठौँ, फागुन १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने जुम्लाका २१ बर्षीय रतन तिरुवामाथि अभद्र व्यवहारको मुद्धामा ७ दिनको म्याद थप गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यलय काठमाडौँले रतनविरुद्ध थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको हो ।
प्रचण्डमाथि जुत्ता प्रहार प्रकरणको छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । समितिमा एसएसपी थापाको नेतृत्वमा परिसरका डीएसपी होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिमल्सिना रहेका छन् ।
आइतबार काठमाडौँको राष्ट्रिय सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । तिरुवाले आफु शहिद परिवारको भएको र तात्कालिन माओवादी संघर्षको क्रममा बाबुको ज्यान गएको बताएका छन् । नेकपा जुम्लाले भने तिरुवा शहिद परिवारको नभएको र विप्लव कार्यकर्ता रहेको जनाएको छ ।