
काठमाडौँ, फागुन २० । बलात्कारका आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले अदालत उपस्थित भएका छन् । आरोपपछि भारततर्फ फरार रहेका गिरीले मंगलबार जिल्ला अदालत सुनसरीमा उपस्थित भई आत्मसमर्पण गरेका हुन् ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोगमा उच्च अदालत बिराटनगरले पुर्पक्षका लागि थ्ुनामा राख्न आदेश दिएको थियो । आदेश लगत्तै फरार भएका उनि केही दिनअघि मात्र नेपाल फर्किएको बताइएको छ ।
तात्कालिन समयमा प्रहरीलाई छक्काएर उनि भारत पुगेका थिए ।
सिद्धबाबाको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले हबल्दार मुकेश साहसहितको टोलीलाई खटाएको भएपनि सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका गिरीले सुरक्षाकर्मीलाई फिर्ता पठाएर भारत पसेका थिए ।
जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएपनि उच्च अदालतले उक्त आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनलाई अदालतको आदेश बमोजिम आजै जेल चलान गरिएको छ ।