काठमाडौँ, फागुन २३ । कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि भागेका व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । कोरियाबाट नेपाल आएका उनलाई विमानस्थलबाट कोरोनाको आशंका पश्चात परिक्षणका लागि अस्पताल पुर्याइएको थियो ।
बुधबार राति अस्पतालको झ्यालबाट हामफालेर भागे पछि अस्पताल प्रशासनले प्रहरीमा खबर गरेको थियो । प्रहरीले तत्काल संयन्त्र परिचालन गरि सो ब्यक्ति बिराटनगर पुगेको कुरा पत्ता लगाएको थियो । त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यलय मोरङको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।
उनलाई हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा पठाइएको छ । उनलाई कोरोना भाइरस भए–नभएको पुष्टि भने भइसकेको छैन ।