भारतमा ‘पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको’ खुलाशा !

दियो पोस्ट  

काठमाडौं, २४ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले भारतमा उच्च राजनीतिक भेटघाट गरेको खुलाशा भएको छ । दुई साता लामो भारत भ्रमणका लागि गत फागुन ४ गते शाह भारत प्रस्थान गरेका थिए ।

भारतको नयाँदिल्ली र अमृतशहरस्थित शिखहरूको पवित्र तीर्थस्थल स्वर्ण मन्दिर दर्शन गर्ने बहानामा भारत गएका उनले उच्च राजनीतिक व्यक्तिलाई भेट गरेको र राजतन्त्र पुनर्बहालीको वातावरण बनाउन आग्रह गरेको खुलेको हो ।


उच्च स्रोतका अनुसार उनले भारतीय जनता पार्टीका नेता भगत सिंह कोसियारी मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट गरेका थिए । नेता कोसियारी नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र कायम हुनुपर्ने वकालत गर्दै आएका व्यक्ति हुन् । शाहले भारतीय प्रधानमन्त्री मोदीलाइृ भेटेको खबरसँगै राजावादी कार्यकर्तामा उत्साह पैदा भएको छ ।


‘उहाँले अन्तर्राष्ट्रिय वातावरण बनाउँदै हुनुहुन्छ । भारतले नै नेपालमा गणतन्त्र स्थापनाका लागि १२ बुँदे शान्ति सम्झौत ागर्ने देखि विभिन्न गतिविधि गरेको हो,’ ती राजावादीको भनाई छ,‘ज्ञानेन्द्र सरकारले मोदीलाई भेट्नु कुन नौलो कुरा भयो र । उहाँ एउटा देशको राजा हो । मोदीले भेट्नु कुनै नौलो विषय हो जस्तो मलाई लाग्दैन ।’

भारत भ्रमणमा ज्ञानेन्द्रको साथमा पत्नी कोमल, बहिनी शोभा शाही, ज्वाइँ मोहनबहादुर शाही, सालाभाइ उदयशमसेर राणा र उहाँकी धर्मपत्नी रोशनी राणा, निजी सचिव सागर तिमल्सिना र निजी अंगरक्षक सशस्त्रका डीएसपी राजेन्द्र गुरागाईंसहित करिब १२ जनाको टोली थियो ।


भारत भ्रमणबाट नेपाल फर्किएका पूर्व राजा शाहको चैत्र पहिलो हप्तामै फेरी झापा जाने कार्यक्रम छ । झापामा बसेर आफ्नै लगानीमा रहेको हिमालय टी हाउसमा लामो समय बस्ने उनको योजना छ । झापामै बसेर आगामी राजनीतिक गतिविधिमा सक्रिय हुने पूर्व राजाको चाहाना रहेको उनी निकट स्रोतको दाबी छ ।

पूर्व राजा निकट रहेका राजन महर्जनले भने पूर्व राजा शाहले कुनै पनि भारतीय उच्च राजनीतिक घरानालाई नभेटेको दाबी गरे ।


‘यो कसैले चलाएको हल्ला मात्रै हो । उहाँले कसैलाई भेट्न भेट्नु भएको छैन,’ उनले भने,‘कसैले ट्रम्पदेखि मोदीसँग भेटेको हल्ला चलाएका छन् । त्यो सत्य होइन ।’