डिल्लीबजार कारागार पुगेर गृहमन्त्रीका भाइ नरेशले गरे आत्मसमर्पण

दियो पोस्ट  

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशले आत्मसमर्पण गरेका छन् । प्रहरीका अनुसार नरेशले एक साताअघि डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका हुन् ।

जिल्ला अदालत, काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न गरेको आदेश उच्च अदालत, पाटनले माघ तेस्रो साता बदर गरेको थियो । आदेश बदरपछि फरार रहेका उनी केही सातापछि आत्मसमर्पण गरेका हुन्।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई थुनामा राख्न आदेश गरेको थियो । अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भदौ अन्तिम साता उनलाई पक्राउ गरेको थियो ।

हाल केन्द्रीय कारागारमा रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको समूहका सदस्य पक्राउ परे छुटाउन सहयोग गर्ने आश्वसन दिएको आरोपमा नरेश पक्राउ परेका थिए ।

निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले जोहरी दिएपछि ब्युरोका डीएसपी निरञ्जन दत्त भट्टले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अदालतसम्म पुगेको थियो ।

जिल्लाले नरेशविरुद्ध स्पष्ट प्रमाण अभाव भएको भन्दै धरौटीमा छाड्न र अन्य प्रतिवादी सुरेन नगरकोटी बलामी, विनोद लामा, शैलेश प्रजापति, पवन खड्का र बीरबल भट्टराईलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न भनेको थियो । यद्यपि, उच्चले नरेशलाई मात्र छाड्नुको कारणमाथि टेकेर थुनामा पठाउन आदेश दिएको थियो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने मुख्य अभियुक्त समिरमानसिंह बस्न्त्यातसँग नरेशको फोन सम्पर्क र भेटघाटपछि उनी विवादमा आएका थिए।

फरार हुँदै आएका नरेशले गत सोमबार आफैं कारागारमा आत्मसमर्पण गरेको जानकारी डल्लीबजार कारागारले जनाएको छ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।