वडा कार्यलयलाई सरकारको निर्देशन–‘विदेशबाट आउने विवरण दैनिकरुपमा मन्त्रालयमा पेश गर्नु’

दियो पोस्ट  

काठमाडौँ, चैत ९ । विश्वव्यापी रुपमा कोरोनाभाइरसको महामारि बढेसँगै सरकारले दैनिक रुपमा विदेशबाट आउने मानिसहरुको विवरण राख्नका लागि देशभरका वडा कार्यलयलाई निर्देशन दिएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सुचना जारि गर्दै वडामा विदेशबाट आएकाहरुको विवरण दैनिकरुपमा अद्यावधिक गर्न र मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।

कोरोना भाइरस नियन्त्रणका लागि आइतबार बसेको उच्चस्तरिय समितिको वैठकको निर्णयअनुसार देशभरका वडाहरुलाई यस्तो निर्देशन दिइएको हो । मन्त्रालयले जारि गरेको पत्रमा विदेशबाट फर्किएका व्यक्तिहरुको रेखदेख तथा निगरानी गर्न समेत निर्देशन दिइएको छ ।

त्यस्तै सरकारले वडा क्षेत्रमा भएका मन्दिर, चर्च, सांस्कृतिक केन्द्र, जिमखाना लगायतका सार्वजनिक स्थानहरुमा समेत भीडभाड हुन नदिन निर्देशन दिएको छ । सार्वजनिक यातायातका साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रुहरु चढाइएको बारेमा पनि अनुगमन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।