धादिङमा कोरोना भाइरसको त्रास : जिल्ला अस्पतालकै मेडिकल सुपरिटेन्डेन्ट डा. झा भागेको खुलाशा !

दियोपोस्ट संवाददाता

धादिङ १२ चैत्र । स्वास्थ्य मन्त्रालयले आफू मातहतका सबै निकायलाई सार्वजनिक विदाको दिनमा समेत कार्यालयमा हाजिर भइ काम गर्न लिखित निर्देशन नै दिएको छ । गत चैत्र ७ गते दिएको लिखित निर्देशनमा स्वास्थ्य विभागसहित १८ वटा निकाय छन् । तर, सोही निकाय अन्तर्गत गर्ने जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिडेन्टेन ‘मेसु’ विगत १५ दिनदेखि कार्यालयको सम्पर्कमा नआएको खुलाशा भएको छ । नेपालमा कोरोना भाइरसको सन्त्रास फैलिएसँगै धादिङ जिल्ला अस्पतालका मेसु त्रिभुवनचन्द्र झा अस्पतालको सम्पर्कमा छैनन् ।


धादिङ जिल्ला अस्पतालले अर्को सरकारी भवनलाई आइसोलेशन वार्ड बनाएको छ । जहाँ भारतबाट आएका केही शंकाष्पद व्यक्तिलाई आइशोलेशनमा राखिएको छ । तर, अस्पतालको नेतृत्व गर्नुपर्ने व्यक्ति नै सम्पर्क बाहिर रहेपछि अन्य कर्मचारीको बेहाल भएको छ ।

स्वास्थ्यकर्मीका लागि नभई नहुने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) समेत अभाव थियो तर १० सेट मात्रै आएपनि लगाउने डाक्टर समेत छैनन् । यता विरामीको प्रत्यक्ष सम्पर्कमा रहने एम्बुलेन्स चालकहरुलाई पीपीई छैन । उनीहरु ज्वरो आएको विरामी देख्ने वित्तिकै तर्सने गरेका छन् ।

पीपीईकै अभावमा एम्बुलेन्स चालकहरुले विरामी नबोक्ने खतरा छ । दरबन्दीमा रहेका डाक्टरहरु निति प्रसाईं र दीपा बोहोराले यसअघि नै जागिर छोडीसकेका छन् । एक जना डाक्टर मात्रै कार्यरत रहेको बताइएको छ ।


दुबई हुँदै धादिङ आएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । उनले होटलमा मात्रै बसेका छैनन् यस बीचमा धादिङका कयौं सर्वसाधरणलाई भेट गरिसकेका छन् । ती नागरिकमाथि समेत कोरोना भाइरसको संक्रमण बढिसकेको खतरा छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आजै गरेको लाईभ पत्रकार सम्मेलनतमा ३२ वर्षिय ती नागरिकले धेरै व्यक्तिलाई भेटेको बताएका छन् । यस्तोमा धादिङबासी सबैभन्दा जोखिममा छन् ।

मेडिकल सुपरिटेन्डेन डा. झाको मोबाइल नम्बर ९८५११०२७९८ मा सम्पर्क गर्दा उनको मोबाइल अफ छ ।


अध्यक्ष धमला भन्छन्,‘मेसु भारतमै अलपत्र परे’


धादिङ जिल्ला अस्पतालका अध्यक्ष महेन्द्र धमलाले मेडिकल सुपरिटेन्डेन भारतमै लकडाउनमा परेको बताउन्छन् । यद्धपी भारतमा केहि दिन अघि मात्रै सरकारले लकडाउन गरेको हो । धमलाका अनुसार उनी श्रीमतीलाई डेलिभरी गराउन भारत गएका हुन् ।

तर, नेपालमै डेलिभरी गराउन सकिने स्वास्थ्य प्रविधि हुँदा हुँदै उनी भारत नै किन गए भन्ने विषय निकै रहस्यमयी छ ।
अस्पताल स्रोतका अनुसार उनी डेलिभरी गराउन भन्दा पनि कोरोनाबाट त्रसित भएर भारतमै लुकेका हुन् ।


धमलाका अनुसार ४ सेट मात्रै पीपीई आएको छ । एम्बुलेन्स चालक र प्रहरीलाई पीपीई पुर्याउन समस्या रहेको उनले बताए ।

त्यस्तै धादिङकै व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएकाले उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई समेत आइसोलेशनमा राख्नुपर्ने उनले बताए ।

सम्बन्धित खबर

सिफारिस