महिला दिवसको अवसरमा महिला पत्रकारले खेले ‘रग्बी’ खेल

diyopost.com
दियो पोस्ट  बुधबार, फाल्गुण २५, २०७८ | १४:१८:४४

काठमाडौं । आठ मार्च अर्थात ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला रग्बीले चियापान तथा टच रग्बी ‘फन गेम’ सम्पन्न गरेको छ । राजधानीको भृकुटीमण्डपमा आज आयोजित एक कार्यक्रमका बीच उक्त खेल सम्पन्न गरिएको हो ।

नेपालमा रग्बी खेलको बारेमा जानकारी दिने उदेश्यले महिला पत्रकारहरुलाई लक्षित गर्दै उक्त खेलको आयोजना गरिएको नेपाल रग्बी संघ, महिला विभागका प्रमुख एलिसा थापाले जानकारी दिइन् ।

कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाली महिलाहरुको निम्ति ऐतिहासिक दिन भएको बताइन् । उनले महिलाहरुको अधिकार र समानताको निम्ति यस दिनले उर्जा र प्रेरणा थपेको भन्दै सामन्ती राज्य व्यवस्थाले सृजना गरेका विभेद र असमानताको विरुद्ध आवाज बुलन्द गर्न र समानताको निम्ति अगाडि बढ्न सबैलाई महिलाहरुलाई आग्रह गरिन् ।
उनले भनिन्, ‘पितृसत्तात्मक सोंच र संरचनाका कारण नयाँ नीति र कानुनको कार्यन्वयनमा जटिल्ताहरु कायमै रहेका छन् । ती जटिल्ताहरुको निराकरण, सोंच र जीवन व्यवहारमा परिवर्तनका लागि सबैले जिम्मेवार भएर लाग्न जरुरी छ ।’

सो अबसरमा उपसभामुख तामाङले विवेकशील र अग्र चेतना भएका मानवले नै आफ्नो समाजलाई सुसंस्कृत र समृद्ध बनाउने र यसका लागि सबैले जिम्मेबार भएर लागि पर्नु पर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल रग्बी संघ, महिला विभाग प्रमुख एलिसा थापाले रग्बी खेलमा महिलाको अवस्था र खेलको बारेमा जानकारी गराइन् । नेपालमा रग्बी खेल सन् २०१५ देखि सुरु भएता पनि यस खेलका बारेमा प्रचार प्रसारको कमी भएका कारण यस खेलले ब्यापकता पाउन नसकेको उनले बताइन् । प्रमुख थापाले घरदेखि खेल मैदानसम्म आईपुग्दा महिलाले आर्थिक, सामाजिक लगायत समस्या झेल्नु परेको भन्दै रग्बी खेललाई राम्रो बनाउन ठोस कार्यक्रम र नियमित बजेटको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

कार्यक्रममा बिभिन्न संचार क्षेत्रमा कार्यरत महिला पत्रकार र रग्बी खेलसंग सम्बन्धित ब्यक्तिहरुको उपस्थिति थियो । रग्बी खेल सात–सात जनाको टिममा खेलिन्छ । यो खेललाई शाहसी खेलका रुपमा लिइन्छ ।

 

 

 

 

सम्बन्धित खबर