काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को–पालटलाई पखाला चलेपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका छन् ।
निगमको व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को–पाइलट व्यवस्था गर्न नसक्दा शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए२२९ बाट उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको छ ।
शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको मकालु नेपाली नाम भएको वाइडबडी विमानलाई दुबई उडानका लागि राखिएको थियो । त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र को-पाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो । तर, जहाजमा उपलब्ध हुने ‘इन–फ्लाईट क्याटरिङ’को खानाले ‘फुड प्वाइजन’ भइ पखाला लागेपछि को-पाइलटले ‘सिक रिपोर्ट’ गरेका थिए ।
अन्तिम समयमा यात्रुहरुले जहाज नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध गरेका थिए ।