त्रिविका बाँकी क्याम्पसहरुमा चैत ३० गते निर्वाचन गर्ने सहमति

दियो पोस्ट  

काठमाडौं । त्रिभुवन विश्वविद्यालअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका क्याम्पसहरुमा चैत ३० गते निर्वाचन गर्ने सहमति भएको छ। ४ वटा विद्यार्थी संगठनबीच यही चैत ३० गते निर्वाचन गर्ने सहमति भएको हो। उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बिहीबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते निर्वाचन गराउन सहमति गरेका छन्।

भर्ना विवादका कारण स्ववियु निर्वाचन रोकिएका क्याम्पसमा विवादित विषयमाथि सत्यतथ्य छानबिनका लागि अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरी निर्वाचन प्रक्रिया अगाडि बढाउनसमेत उनीहरुले माग गरेका छन्।

काठमाडौं उपत्यकाका अमृत साइन्स, त्रिचन्द्र, पाटन संयुक्त क्याम्पस, विश्वभाषा, रत्नराज्य र नेपाल कमर्श क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ। यस्तै उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसमा निर्वाचन गर्न बाँकी छ।

यही चैत ५ गते १४ वर्षपछि त्रिविका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो। केही क्याम्पसमा भर्ना र विद्यार्थी संगठनबीच विवादका कारण निर्वाचन हुन सकेको थिएन।

सिफारिस