काठमाडौं । १० दलीय सत्ता गठबन्धनले आज साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारे सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए ।
उनले भने, ‘राजनीतिक दलहरूबीच सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारे सैद्धान्तिक र नीतिगत विषयमा छलफल भयो । सबैबीचमा मोटामोटी रूपमा सहमति भएको छ । सानातिना सुझाव केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकाबारे, सुशासनबारे मूलभूत रूपमा सहमति भएको छ ।’
महासचिव गुरुङले आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको जानकारी दिए ।