मृतकको बीमामा ठगी : बिमा रकम ठग्न सघाएको आरोपमा बिमा कम्पनीका कर्मचारी पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ पर्नेमा सूर्यज्योति जीवन बिमामा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी छन्। यसअघि प्रहरीले गत शुक्रबार ६ जनालाई सार्वजनिक गरेको थियो।

शुक्रबार नै अर्घाखाँची घर भई वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई पक्राउ गरेको थियो।

उनीहरूले नै गिरोहलाई मृतक परिवारको सूचना दिएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो।

यसअघि पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्।

आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो। प्रहरीले उनीहरूलाई पक्राउ गर्दा ३५ जनाको कागजात पनि बरामद गरेको थियो।

यो पनि

विदेशबाट ल्याइने शवमाथि बिमाको नाममा ठगी, वैदेशिक रोजगार बोर्डका नासुसहित ७ जना पक्राउ