नेपाली कांग्रेस ओखलढंगामा पार्टीभित्र चरम असतुष्टि, सभापतिले एकलौटी गरेको आरोप

- युवराज पहाडी  

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्य समितिले केहीदिन अघि ओखलढुंगा–काठमाडौं सम्पर्क समिति गठन गरेको छ । युवा नेता खिलानाथ लुइटेलको अध्यक्षतामा गठन भएको उक्त समितिको पार्टीभित्रै आलोचना भएको छ । पार्टीभित्र व्यापक छलफल गरेर समिति गठन गनुपर्ने भन्दै सुनकोशी गाउँपालिका–२ ले समितिविरुद्ध विज्ञप्ति जारी गरेको हो । उक्त विज्ञप्तिमा भनिएको छ । “लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मासात गर्दै विधि, विधान र बिगतको नजिरलाई आधार मानी प्रकृयागत ढंगबाट काठमाडौं उपत्यकामै बृहत भेला गरी आएको सुझाव, निष्कर्षबाट पुनः नेपाली कांग्रेस ओखलढुङ्गा–काठमाडौँ सम्पर्क समिति गठन गर्न नेपाली काँग्रेस सुनकोशी–२, ओखलढुङ्गा–काठमाडौं सम्पर्क समिती परिवार विशेष ध्यानाकर्षण गराउन चाहान्छ । ”

सम्पर्क समितिका सभापति लुईटेलका विरुद्धमा कुनै विवाद नभएपनि खनाल प्रवृत्तिको भण्डाफोर हुन नसके पार्टीको अस्तित्वमा गम्भिर चुनौती खडा हुने एक नेताले बताए । गत चैत १८ गते पार्टी कार्यलय बि.पी स्मृति भवनमा जिल्ला सभापति ओलढुंगाका तेजेन्द्र खनालको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो । सोही समितिमा महिलालाई उपेक्षा गरिएको भन्ने त्यहाँका महिला नेताहरुले ठुलो असतुष्टि व्यक्त गरेका थिए । नेपाली कांग्रेसका जिल्ला नेता तथा पत्रकार महासघंका उपाध्यक्ष बाला अधिकारीले भनिन् “महिालामाथि हुने उपेक्षा कुनै पनि हालतमा स्वीकार्य छैन । यो समितिमा एकजना पनि महिला सहभागिता नहुनु ठुलो अन्याय हो । यसमा हाम्रो गम्भिर आपत्ति छ ।”

महिला नेताहरुले नेतृत्वले समितिको नेतृत्वमा महिलाहरुलाई समावेश नगर्ने हो भने कुनै पनि हालतमा मान्य नहुने र महिला आवजलाइ वेवास्ता गरे पार्टीबाट धेरै महिलाहरु बाहिरिने चेतावनी समेत दिएका छन् ।

खनाल फेरि पार्टी सभापतिमा दोहोरिनका लागि विभिन्न चालबाजीमा लागेको आरोप लगाउदै एक असतुष्ट नेताले भने, “सभापति ज्यूको यो चालबाजीले भविष्यमा उहाँलाई नै भारी पर्न सक्छ ।

१३ औं महाधिवेशनबाट सभापति तेजेन्द्र खनाल नेतृत्वमा आएपछि पार्टी झन् गुटवन्दीको दलदलमा फसेको एक नेताले बताए । साथै ८ जना जिल्ला सदस्य मनोनित गर्न पाउने अधिकारको दुरुपयोग गर्दै दर्जनौं सदस्य बनाएको र लामो समयदेखी पार्टीभित्र योगदान गर्दै आएकालाई वेवास्ता गरी चाकडी गर्नेलाई स्थान दिएको ती नेताको आरोप छ ।

अघिल्लो सम्पर्क समिति गठन हुँदा पार्टी भित्रको चरम गुट र उपगुटले विवादित बनेपछि लामो समयसम्म नेतृत्वविहीन बनेको उक्त समिति गठनपछि पुनः विवादित बनेको हो ।

केही समय अघि पार्टीका प्रभावशाली नेता राजन दाहालको समूहले नेपाली कांग्रेस् परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका थिए ।