कोरिया लगायतका देशमा पठाउँछु भन्दै लाखौं रकम ठगी, दुई जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीको लागि ईटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड तथा पोर्चुगल लगायतका देशहरूमा पठाईदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ टाउनप्लानिङस्थित ग्रिनलिफ इन्टरनेशनल कन्सलटेन्सी प्रा.लि र काठमाडौं ठमेलस्थित नेपाल स्नोफल माउण्टेन्स ट्रेक एण्ड एक्सपेडिसन प्रालिका संचालक कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–५ घर भएका २८ वर्षीय सुधन कुमार शाही र मेनेजिङ डाईरेक्टर सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका–१ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय अनिल श्रेष्ठ रहेका छन् । उनीहरुले २२ जनालाई सम्बन्धित देशहरुमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लागईदिने र मासिक १ लाख रुपैयाँभन्दा बढी कमाई हुने भन्दै प्रलोभन देखाएर ठगी गरेको प्रहरी स्रोतले बताएको छ ।

उनीहरुले पिडीतबाट प्रति व्यक्ति ५ लाख रकम लिएको आरोप छ । उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौमा पठाइएको छ ।

सम्बन्धित खबर

सिफारिस