‘मिटरब्याजीलाई कारबाही हुन्छ, पीडितहरु घर फर्किदिनुस्’

दियो पोस्ट  

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजीलाई कारबाही गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको भन्दै आन्दोलनमा उत्रिएका पीडितहरुलाई घर फर्किन आग्रह गरेकी छन् । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले मिटरब्याजलाई फौजदारी अपराधको रुपमा लिएर कारबाही गर्ने गरी कानुनी प्रबन्ध गर्ने र आयोग गठन गर्ने निर्णय नै गरिसकेको बताइन् ।

‘मिटरब्याजीहरुको समस्या समाधानका लागि सरकारले काम थालिसकेको छ । आयोग नै गठन भइसक्यो, यसको कार्यालय जनकपुरमा हुन्छ,’ उनले भनिन्, ‘यो मिटरब्याज छ कि छैन भनेर खोज्ने आयोग होइन, कुन मिटरब्याजीले कति ठगेको छ ? त्यसको जाहेरी लिएर कारबाही गर्ने आयोग हो ।’