विवाहको १० वर्ष, दाईजोमा स्वकारेको ३ तोला सुन नदिएको भन्दै जलाएर हत्या प्रयास

दियो पोस्ट  

जनकपुरधाम । धनुषाको जनकपुरधाममा दाइजोको निहुँमा श्रीमान र परिवारका सदस्यले आगोमा जलाएर हत्या प्रयास गरेको पीडित महिलाले बताएकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाले आफ्नो हत्या प्रयास भएको बताएकी हुन् ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत श्वेताले श्रीमान राजीव, ससुरा शिवशंकर झा, सासु, देवरलगायतले कुटपिट गर्दै शरीरमा आगो लगाइदिएर हत्या प्रयास गरेको बताइन् । उनको विवाह भएको १० वर्ष वितिसकेको र दाइजोमा स्वीकारेको ३ तोला सुन नदिएको भन्दै परिवारले यातना दिदै आएका थिए ।

यो घटना वैशाख १ गते नयाँ वर्षको दिन हो । राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहेका थिए । त्यसलाई रोक्न खोज्दा राजीवले भाइ, बुबा र आमाको सहयोगमा आफूलाई पनि कुटपिट गर्दै आगोले जलाइदिएको श्वेताको आरोप छ ।

घटना थाहा पाएपछि भारत बिहारको दरभंगास्थित पोठिया गाउँ माइत रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार श्वेताको घाँटीभन्दा तल शरीरको ३५ प्रतिशत भाग जलेको छ ।
विवाहपश्चात् आफ्नो बुबाले निरन्तर राजीव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको श्वेताको भनाइ छ ।