निजी क्षेत्र नियन्त्रण गर्ने कानुन बनाउँदैनौँः प्रधानमन्त्री प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरी कुनै कानुन नबनाउने बताएका छन् । शुक्रबार दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

भेटमा प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई समेत दिए । त्यस क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवर्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीले भने, ‘निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म स्पष्ट छु निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पर्ने गरी कुनै पनि कानुन बनाउँदैनौँ ।’त्यस क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्ने गरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले स्पष्ट पारेका थिए ।