सरकारले अर्थतन्त्र सुधार गर्न ५ सय र हजारका नोट छपाइ बन्द गर्नुपर्छ : खिमलाल देवकोटा

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिसभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि ५ सय र हजार रुपैयाँका नोट छपाइ रोक्नुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रियसभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दै सदस्य देवकोटाले मुलुकमा भइरहेको भ्रष्टाचार कम हुने दाबी गर्दै ५ सय र हजार रुपैयाँका नोट छपाइ रोक्नुपर्ने बताएका हुन् । उनले बजारमा भएको सबै पैसा नियन्त्रण गर्न सकिए भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने दाबी गरे ।

सांसद देवकोटाले बजारमा लगानी गर्नुपर्ने पैसा कर्मचारी, नेता, दलाल र विचौलियाले बोरामा लुकाएर राख्ने गरेको दाबी गरे । उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार सार्वजनिक ऋणको अधिकांश हिस्सा प्रशासनमा खर्च भएको र अहिले ऋण लिएर चालु खर्च धान्नुपर्ने अवस्था रहेको बताए ।

सांसद देवकोटाले नेपालमा वैदेशिक ऋण घट्दो क्रममा रहेको, राजस्व संकलन अनुपात भारी मात्रामा घटेको, उद्योगी व्यवसायी धरासायी बनेको, पुरानो कर्जा तिर्न नयाँ कर्जा लिनुपर्ने अवस्था रहेको बताए । उनले आर्थिक वर्षको अन्त्यमा ठूलो बजेट रकमान्तर गर्ने, बिना आधार वहुवर्षीय आयोजना स्वीकृत गर्दा आर्थिक अराजकता बढ्दै गएको बताए ।