रास्वपाको उदय, ज्वालामुखी बिस्फोटको संकेत : बाबुराम भट्टराई

दियो पोस्ट  

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपाकाृ उदय हुनु भनेको ज्वालामुखी बिस्फोटको संकेत आएको बताएका छन् । १० वर्षे जनयुद्धको क्रममा सेनाबाट बेपत्ता पारिएका पूर्ण पौडेलको ‘स्मरण तथा प्रतिष्ठान गठन’ को लागि आयोजित कार्यक्रममा बोल्दै उनले त्यसो बताएका हुन् ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलतालाई जनता र युवाको असन्तुष्टिको रुपमा अथ्र्याए । उनले असन्तुष्टि संवोधन नभए देश अराजकतामा फस्ने जिकिर पनि गरे। ‘देशमा चरम असन्तुष्टि छ। केही समय यताका परिघटनाहरु हेर्नुहोस् वा उपनिर्वाचनलाई हेर्नुस्। जुन प्रकारका असन्तुष्टिहरु व्यक्त भइराखेका छन्। यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने, ‘यो केही पनि होइन भनेर टाल्ने प्रयत्न गर्नुहुँदैन। यो गम्भीर प्रकारको ज्वालामुखी विष्फोटको संकेत हो। बेलैमा हामी कहाँ–कहाँ सच्चिनुपर्छ सच्चिऔं।’

उनले अहिले देखिएको असन्तुष्टि सुविचारित नभएकोले यसको गन्तब्य कहाँ हो भन्ने स्पष्ट नभएको पनि बताए। जनताले सुशासन र समृद्धि चाहेको र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो। उनले क्रान्तिकारीहरुलाई अहिलेको भीडले आतंककारी र दलाल भन्दै बदनाम गर्न खोजेको जिकिर पनि गरे।

‘क्रान्तिकारीलाई हत्यारा र आतंककारी, दलाल भनेर बदनाम गर्ने काम भइरहेको छ यो सही होइन,’ उनले अमेरिकालगायतका देशका क्रान्तिको उदाहरण दिँदै भने, ‘अन्य देशमा क्रान्ति गर्दा महान नेता हुने अनि हाम्रो देशमा क्रान्ति गर्ने चाहिँ हत्यारा, दलाल र आतंककारी हुनेरु यो हुनसक्दैन।’

आफू प्रधानमन्त्री हुँदा सत्य निरुपण, मेलमिलाप तथा बेपत्ता छानविन आयोग बनाएर द्वन्द्वकालीन मुद्दा हल गर्ने प्रयत्न गरे पनि सफल नभएको बताउँदै अहिले भएको सहमतिले संक्रमणकालीन न्यायसम्बन्धी विवाद समाधान हुने विश्वास व्यक्त गरे। विधेयक पारित गर्दै दुई वर्षभित्र सबै काम सक्नुपर्नेमा उनको जोड थियो।