काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वायुसेवा निगम खाने खुम्ले किरा मन्त्रीहरु नै रहेको बताएका छन् । नयाँ आएपछि वायुसेवा निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरेको भन्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।
‘म मन्त्री भएको सय दिन भयो यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो। वायुसेवा निगमलाई यो अवस्थामा पुर्याउन मन्त्रीहरुको ठूलो हात रहेछ । यति भन्दैमा फेरि निगमको कर्मचारीहरुचाहिँ चोखो छन् भन्ने हैन’, उनले भने, ‘नागरिक उड्डयनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि ती कर्मचारीले व्यावसायिक कार्ययोजना हैन पैसा असुल्ने नै कार्ययोजना बनाउँछन् ।’
मन्त्री किराँतीले आफूलाई पैसा मन नपर्ने र कामसँग मात्रै सरोकार रहने बताए । ‘विगत जे भयो, अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ । तपाईंहरुसँग मलाई विश्वास छ । अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छेजस्तै डिस्चार्ज गर्नुपर्छ’, उनले भने । निगमलाई सुधार्न आफू जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै उनले आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने समेत मन्त्रीले बताए ।