काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थनको औचित्यमाथि प्रश्न उठेको बताएका छन् । रास्वपा केन्द्रीय कार्यालय घण्टीघरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारमा बिना कारण सरकारमा जान नसक्ने बताएका हुन् ।
‘हिजो औचित्य थियो र गइएको थियो । हामी मन्त्री पाउनेबित्तिकै जाने होइन । हामी गन्तव्यमा पुग्ने उद्धेश्यले मात्र गएका थियौं,’ लामिछानेले भने, ‘हामी भ्रष्टाचारको फाइल खोल्ने भनेका छौं, उहाँहरुले त्यसलाई बदर गर्ने हो भने त समर्थन मात्र नभई बिरोधी नै हुनुपर्ने अवस्था आउनसक्छ । ’ उनले अहिलेसम्म आफूहरु चुनावमा व्यस्त भएकाले अब सरकारको सहभागीताबारे छलफल गर्ने बताए ।
‘सरकारमा सहभागीता जनाउनेबारे हामी छलफल गर्दैछौं । हामीले भनेका छौं, निर्वाचनमा हामी पूरै पार्टी फोकस थियो । अब पार्टीभित्र छलफल गछौं,’ लामिछानेले भने, ‘जुन ढंगले सरकारले न्युनतम साझा कार्यक्रम ल्याएको छ, हाम्रो महत्वपूर्ण बुँदाहरु बगेर बनाएको छ । समर्थनको औचित्यमा पनि प्रश्न गर्नपर्ने अवस्था आएको हुनाले थप छलफल गर्छौं ।’
भ्रष्टाचार गर्नेलाई फाइल खोल्ने भन्ने विषय न्युनतम साझा कार्यक्रमबाट हटायो भने सरकार पनि नरहने उनले चेतावनी दिएका छन् । ‘भ्रष्टाचार गर्नेलाई फाइल खोल्ने भन्ने विषय न्युनतम साझा कार्यक्रमबाट हटायो भने सरकार पनि कहाँ बस्छ र ? हामी थप मजबुद भएर आएका छौं । भ्रष्टाचारको फाइल खोल्नै नदिने भन्ने कुरालाई कहाँ चुप बस्न सक्छौं र ?’ लामिछानेले प्रतिप्रश्न गरे । साथै, गत उपनिर्वाचनमा तुलनात्मक रुपमा मधेशमा आफ्नो पार्टीको संगठन कमजोर भएको स्वीकार गर्नुपर्ने पनि बताए ।