किन मनाइन्छ ‘माता तीर्थ’ औँसी? यस्तो छ कारण !

दियोपोस्ट संवाददाता

आज माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आफ्नी जन्म दिने आमाप्रति श्रद्धाभाव र सम्मान गर्दै उनलाई मिठा मिठा परिकार खुवाई खुसी पार्ने गरिन्छ । यस दिन देशभर हिन्दु धर्मालम्बीहरुले आफ्ना जीवित आमाको सम्मान मिठा मिठा परिकार खुवाउने उ र उनलाई मन पर्ने उपहार दिई खुसी बनाउने चलन छ । जीवित आमा नहुनेहरूले आजको दिन गोकर्ण, मातातीर्थ आदि पवित्र स्थानमा गएर आमाको मुक्तिको कामना गर्दै विधिपूर्वक श्राद्ध गर्दछन् ।

तर, यो पर्व किन मनाइन्छ भन्ने बारेमा भने थुप्रै किम्वदन्तीहरु रहेका छन् ।

आजको दिन आमा जीवित नहुनेहरूले काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित मातातीर्थ कुण्डमा गई आमाका नाममा विभिन्न पुण्यकर्म गर्ने गर्दछन् । मातातीर्थ कुण्ड थानकोट नजिकै अवस्थित छ । उक्त स्थानमा गरिने पुण्यकर्मले आमाले ९ महिनासम्म गर्भमा राखेर जन्माई हुर्काएको मातृऋणबाट मुक्तिका साथै आमाको समेत मोक्षगति हुने विश्वास गरिन्छ ।

स्वस्थानी व्रतकथाअनुसार यही तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो। यस पवित्र भूमिमा गई आमाको नाममा गरिएका श्राद्धलगायतका पुण्यकर्मको प्रभावले दिवंगत आमाको मुक्ति हुने र आमाको आशीर्वादले सन्तानको जीवन सुखमय रहने जनविश्वास छ ।

त्रेतायुगमा अयोध्याका राजा दशरथका छोरा श्रीराम वनबास जाँदा लक्ष्मण र सीताका साथमा घुम्दै यस ठाउँमा आइपुगे । अपरिचित उनलाई स्थानीय बासिन्दाहरूले नौलो र शंकास्पद देखेर आक्रमण गरे । त्यसपछि श्रीराम र उनीहरूबीच ठूलो युद्ध नै भयो । दुवै पक्ष थकित र भोक–प्यासले आकुल भए । माता सीताजी पनि प्यासले आकुल भइन् । वरिपरि पानीको खोजी भयो, कतै नभेटिएपछि भगवान श्रीरामले गंगाजीको स्तुति गर्न थाले ।

‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले जमिनमा बाण प्रहार गरे, त्यहाँ पानीको कुण्ड बन्यो । पानी उघाउन जाँदा माता सीताले उक्त कुण्डमा सारा ब्रह्माण्डको दर्शन पाइन् । कुण्डको जलमा उनको छाया पर्नासाथ भित्रको ढुंगामा उनको मूर्ति समेत कुँदिन पुग्यो । यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गरेको पवित्र कुण्डलाई मातातीर्थ कुण्ड भनिएको हो, भन्ने किम्वदन्ती छ ।
त्यस्तै, प्राचीन कालमा घना जंगलमा गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी कुण्ड भएतिर गयो । कुण्डमा गएर हेर्दा उसले त्यहाँ आफ्नी आमाको दर्शन पाएछ । घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लैजाने र आमाबिना एक्लै नफर्किने जिद्दी गर्न थालेछ । त्यसपछि आमाले छोरालाई मृत आमाहरू प्रत्येक वैशाख औंसीको दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै छोरालाई घर फर्काइछन् ।

यसर्थ यस कुण्डमा मातातीर्थ औंसीको दिन दिवंगत आमाहरू आई सन्तानले दिएको पिण्ड–तर्पण प्राप्त गरी पूर्वयात्रामा फर्किन्छन् भन्ने जनविश्वास छ । मातातीर्थ औंसीका अवसरमा दिवंगत आमाहरूलाई पिण्ड–तर्पण दिइने पवित्र तीर्थस्थल भएकाले यस स्थानलाई मातातीर्थ कुण्ड भनिएको हो भन्ने अर्को जनबिश्वास रहेको छ ।

त्यसैले पनि यो दिनमा आफूलाई जन्म दिने आमाको मुख हेर्ने र आमालाई विशेष रूपले सम्मान गर्ने पर्वका रुपमा लिइन्छ । हिन्दू परम्परा अनुसार मातातीर्थ औँसी नेपालमा मनाइने एक दिने पर्व हो । यो दिन मुख्य रूपमा आमा र मातृत्वको सम्मान गर्ने चलन छ । मातातीर्थ पोखरी दिवंगत आमाहरूको सम्झना गर्न काठमाडौंको पश्चिममा रहेको एक तीर्थस्थल हो । मातातीर्थ पोखरीमा स्नान गरी तर्पण गर्ने सन्तानको माताले मोक्ष प्राप्ति र परिवारमा समृद्धि ल्याउने जनविश्वास रहेको छ । मातातीर्थ औँसीको दिन मातातीर्थबाट हिँड्ने व्यक्तिले आफ्नी मृत आमालाई पोखरीमा देख्ने किंवदन्ती रहेको छ ।