
काठमाडौं । कम्बोडिया लगायतका देशहरुमा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपलिका–९ घर भई भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजु श्रेष्ठ रहेका छन् । प्रहरीले उनलाई मंगलबार (आज) पक्राउ गरेको हो ।
श्रेष्ठले एक जना व्यक्तिलाई कम्बोडिया पठाइ आरएफसि सेक्युरिटि गार्डमा १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी ७ लाख रुपैयाँ लिएको आरोप छ ।
वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।