नक्कली भुटानी शरणार्थी बनाएर ठगीधन्दाका ‘नाइके’सँग अख्तियार प्रमुखकै साँठगाँठ : उजुरी लुकाएको खुलाशा !

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौँ ठगी गर्ने गिरोहको नाइकेसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रमुख आयुक्तको रहस्यमयी सांठगाँठ देखिएको छ ।
ठगी अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री राम बहादुर थापा बादलका प्रमुख विज्ञ सल्लाहकार ईन्द्रजित राई पक्राउपरेपछि घटनाको अर्को पाटो समेत खुलाशा भएको हो । राई पक्राउ पर्नुअघि उनले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईसँग सम्पर्क गरि जानकारी गराएको समेत खुलेको छ ।

‘मैले तपाईं फेस गर्नुस्, कुरा के हो, प्रहरी वा मिडियामा गएर बताउनुहोस् भनेको थिएँ,’ अख्तियार प्रमुख राईले आज प्रकाशित कान्तिपुर दैनिकलाई भनेका छन् ‘यो गिरोह र चलखेलसम्बन्धी समाचारमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृह सचिव (न्यौपाने र पाण्डे) हरूको संलग्नताबारे पनि कुरा आएको थियो । तर अहिले किन सामसुम पारियो भनेर पनि बाहिर हल्ला चलेको रहेछ ।’
ठगीधन्दाबाट पीडित भएकाहरुले अख्तियारमै प्रमुख आयुक्त राई विरुद्ध उजुरी दिएपनि उक्त उजुरी दबाएर राखेको समेत खुलाशा भएको छ । ठगीमा पक्राउ परेका धन्दाका नाइकेहरुले प्रेम कुमार राईलाई पनि मिलाउनु पर्छ भन्दै करोडौँ रुपैयाँ उठाएको समेत अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।


तत्कालीन गृह सचिव प्रेमकुमार राईसमेतलाई पैसा दिनुपर्ने भन्दै २०७६ भदौमा प्रतिव्यक्ति १० लाख उठाइएको भन्दै गिरोहविरुद्ध काठमाडौंका रामशरण केसीले २०७८ मंसिर ३ मा अख्तियारमा उजुरी (सी–०१६१६६) दिएका थिए ।
उजुरीमा भनिएको छ, ‘दुलालले तपाईंहरूको हस्ताक्षर भएको भुटानी शरणार्थी समस्या समाधानका उपायहरूको सम्बन्धमा सरकारमा पठाउन लागिएको प्रस्ताव देखाएका थिए । तपाईं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त भएपछि पनि उनले इन्द्रजित राई र प्रेम राईसँग कुरा भइसक्यो, उसलाई हामीले नै सेटिङमा अख्तियार लगेका हौं भनेका थिए । भुटानी शरणार्थी समस्या समाधानको प्रस्ताव २०७७ चैत ११ गते तत्कालीन गृह सचिव महेश्वर न्यौपानेमार्फत तपाईंले नै स्वीकृत गराएको र त्यसमा मुख्य सचिव शंकर बैरागीको हस्ताक्षर रहेको प्रमाणसमेत हामीलाई देखाइएको थियो ।’ केपी शर्मा ओलीपछि देउवा सरकार आएकाले अहिले अमेरिका पठाउन नसकिने भनेर अख्तियार प्रमुख राईले जवाफ दिएको पनि गिरोहले आफूहरूलाई बताएको केसीले उजुरीमा उल्लेख गरेका थिए ।

‘हो, म र इन्द्रजित राईलाई समेत रकम दिनुपर्ने भनेर ३४ जनाबाट जनही १० लाख रुपैयाँका दरले ३ करोड ४० लाख रुपैयाँ उठाइएको भनेर उजुरी आएपछि मैले तत्कालै उजुरीकर्ता रामशरण केसी र उनका सहयोगी प्रेमराज पन्थीलाई अख्तियारमा बोलाएर छलफल गरेको थिएँ,’ अख्तियार प्रमुख राईको प्रतिक्रिया छ, ‘ठगीको विषय अख्तियारको कार्यक्षेत्रमा नपर्ने भएकाले उपत्यका अपराध अनुसन्धान वा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा जान सुझाव दिएको थिएँ ।’ सीआईबीका तत्कालीन प्रमुख सहकुल थापालाई फोन गरेर ठगीमा परेका २ व्यक्ति सहयोगका लागि आउँदै छन् भनेर जानकारी पनि दिएको तर उनीहरू गए÷गएनन् भन्ने थाहा नभएको उनको भनाइ छ ।

उजुरीकर्ता केसीले आफूले दिएको उजुरीका विषयमा अख्तियार प्रमुखसँग कुराकानी भएको र पछि त्यो उजुरीलाई त्यत्तिकै दबाएर राखिएको बताएका थिए । पन्थीले भने आफू केशव दुलाल, सानु भण्डारी र कास्कीका भेषराज शर्मा लम्सालका कारण पैसा उठाउने काममा लागेको जानकारी दिएका थिए । केसी र पन्थी दुवैले आफूहरू ‘पीडकभन्दा बढी पीडित’ रहेको बताएका थिए ।

कान्तिपुरले आज प्रकाशन गरेको समाचारमा ईन्द्रजित राई पक्राउ भनेर शिर्षक राखेपनि भुटानी शरणार्थी ठगी प्रकरणमा राईको संग्लनताबारे भित्री पृष्ठमा उल्लेख गरेको छ । यो प्रकरणमा अख्तियार प्रमुख राई समेत मुछिएका छन् ।