हिमपहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ को शव फेला

दियो पोस्ट  

काठमाडौं । दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनकामा गएका हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ ।

हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव बुधबार बिहान उद्धारका क्रममा फेला परेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् ।

सशस्त्र प्रहरी र जनपथ प्रहरी सीतापुलको टोलीले उद्धार गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । शव घटनास्थलभन्दा अन्दाजी ६ सय मिटर पर खोल्सामा भेटिएको उनले बताए । शवको सनाखत भने भएको छैन ।

अहिले पनि उक्त क्षेत्रमा हिउँका साथै पानी पनि परिरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाई छ ।