काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार राम्रो गर्ने र राम्रो बाहेक गर्दै नगर्ने बताएका छन्। दिवंगत वामपन्थी नेता निर्मल लामाको २३औं स्मृति दिवसको अवसरमा बुधवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने अठोटका साथ अगाडि बढाएका छौं।’
सो अवसरमा प्रधानमन्त्रीले निर्मल लामासँगका आफ्ना विगतका स्मरणहरुबारे चर्चा गरेका थिए। उनले भने, ‘उनलाई नै हेरेर हामी आन्दोलनमा लागेको हो । लामाजीका सम्झनाका लागि थुप्रै प्रसंगहरु छन्।’
उनले अहिले परिस्थिति नयाँ बनेको बताउँदै सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने अठोटका साथ अगाडि बढेको स्पष्ट पारे।
प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाज लगायत आम श्रमिक जनसमुदायको साथ र सहयोग हुने विश्वास व्यक्त गर्दै त्यसका लागि सबैमा अपिल पनि गरे।
प्रधानमन्त्रीले भने, ‘सुशासनको निम्ति हामी गम्भीर भएर जे अठोटका साथ अगाडि बढेका छौं। लामाजीलाई सम्झिँदै गर्दा उनको इमानदारिता, क्रान्ति निष्ठा, सरलता र पारदर्शी हाम्रा लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्न चाहन्छु।’