काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा आफूले निर्दोषलाई केही नगर्ने तर भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने नीति लिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
देशमा थुप्रै समस्या रहेको र कमिसन तथा भ्रष्टाचारले देश जर्जर बनाएको भन्दै उनले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताए । खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको उनको टिप्पणी छ ।
‘निर्दोष मानिस डराउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘हाम्रो देशमा अरु थुप्रै समस्या छन् । कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ। र, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्नुपर्छ ।’
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मुल रुपमा आफूले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । ‘कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन्,’ उनले भने, ‘दोषीलाई जहाँ गए पनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो ।’