नागरिकलाई अनागरिक बनाएर मानव तस्करी गर्नु निकृष्टतम अपराध : बाबुराम भट्टराई

दियो पोस्ट  

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी यो विषय छिटो तार्किक निष्कर्षमा पुर्‍याउन आग्रह गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै यो प्रकरणमा अहिलेसम्म नेपाल सरकारले र प्रहरी प्रशासनले देखाएको तदारूकतालाई पार्टीले स्वागत गरेको बताएका हुन् ।

‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेशमा मानव तस्करी गर्नु र त्यस निम्ति राज्यको उच्च तहमा रहेकाहरूले नै निजी लाभका निम्ति राज्य शक्तिको चरम दुरूपयोग गर्नु निकृष्टतम अपराध हो,’ भट्टराईले भनेका छन्।

उनले निष्पक्ष ढंगले अनुसन्धानलाई अगाडि बढाएर छिटो तार्किक निष्कर्षमा पुर्‍याउन पनि माग गरेका छन्। ‘कुनै पनि बहानामा अपराधिलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन नेसपा खबरदारी गर्दछ,’ उनले भनेका छन्।