काठमाडौं । सरकारले टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिने गरी केही नेपाल ऐन संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ। प्रतिनिधि सभामा पेस गर्ने गरी सरकारले बिहीबार बिहान विधेयक दर्ता गराएको संसद् सचिवालयमा प्रवक्ता एकराम गिरीले बताए।
चौधरीको मुद्दा सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ चलिरहेको छ। सरकारले सर्वोच्चबाट मुद्दा फैसला हुन लागेको समयमा यस्तो विधेयक ल्याएको हो। चौधरीको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।
सरकारले दर्ता गराएको केही नेपाल ऐन संशोधन विधेयकले मुलुकी कार्यविधि संहिता सशोधनको प्रस्ताव गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरेको विधेयक केही दिनअघि मन्त्रिपरिषदले पारित गरेको थियो। मन्त्रिपरिषदबाट पारित भएपछि मन्त्रालयले कानुनी प्रारुप मिलाएर केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको हो।