गृहमन्त्री श्रेष्ठले भने– सरकार कुनै दबाबको अघि झुक्नेछैन

नक्कली भुटानी शरणार्थी प्रकरण :

दियो पोस्ट  

कामठाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्ष रूपमा काम गरिरहेको उल्लेख गरेका हुन् ।

मन्त्री श्रेष्ठले भ्रष्टाचारका अन्य प्रकरणहरूको पनि अनुसन्धान हुने स्पष्ट पारे ।

उनले भने, ‘भुटानी शरणार्थी बनाएर पठाउने जुन केस हो, अहिले अनुसन्धान सकिएको छैन । अनुसन्धानको समय कम भएकाले प्रहरीले २४ घण्टा नै काम गर्नुपरेको बाध्यता छ, प्रहरीलाई प्रारम्भिक चरणदेखि नै कुनै राजनीतिक वा अवाञ्छनीय प्रभावबाट मुक्त राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिइएको छ । कोही निर्दोष फस्ने काम नहोस् भनेर भनेका छौँ, कसैको छविमाथि आघात नपुगोस् र कोही पनि दोषी नछुटोस् भनेर निर्देशन दिइएको छ, प्रहरी त्यसैअनुसार अघि बढेको छ । अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको लक्ष्य छ । सरकारको तर्फबाट कुनै बायसनेस लिइनेछैन र सरकार कुनै दबाबको अघि झुक्नेछैन । कुनै पनि दबाबको अघि झुक्नेछैन, अनुसन्धानले जहाँसम्म लैजान्छ त्यहाँसम्म सरकार पुग्छ ।’