काठमाडौं । जबर्जस्ती सम्बन्धविच्छेद गराएको फैसलाविरुद्ध न्यायको माग गर्दै संघर्षरत बिनु यादवले माइतीघरमा आमरण अनशन थालेको सातौं दिन पूरा भएको छ । न्याय खोज्दै ४ वर्षदेखि प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी उनी कतैबाट न्याय पाउन नसकेको भन्दै सडकमा आएकी हुन् ।
रामेछापका प्रदीप कठायतविरुद्ध बलात्कारको हदम्याद कटाउन विवाहको षड्यन्त्र गरेर बेवारिसे बनाएपछि इच्छाविपरीत ०७९ वैशाख ७ मा जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले सम्बन्धविच्छेद गराएको भन्दै बिनुले असार १६ मा उच्च अदालत पाटनमा पुनरावेदन गरेकी थिइन् । उच्च अदालतले पेसी सारीरहेको छ । विवाह गरी रामेछाप लगेपछि बलात्कार प्रयास गर्ने काका ससुरा पवन कठायतविरुद्ध गत साउन १५ मा उजुरी दिएकी थिइन् । पवन कठायत छुटिसकेका छन् । उनले न्यायको मागसहित राष्ट्रिय मानवअधिकार आयोगमा समेत मौखिक र लिखित जानकारी दिइन् । त्यस्तै प्रदीपका मामा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले भान्जाविरुद्ध बलात्कारको जाहेरी फिर्ता लिन दबाब दिएको बिनुको आरोप छ ।