नेपाल लाइफ इन्स्योरेन्समा ठूलो आर्थिक घोटाला : बीमितको पैसा हिनामिनाको खुलाशा !

दियो पोस्ट  

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा गम्भीर आर्थिक हिनामिना भएको पाइएको छ । संस्थामा हैकम चलाएका केही कर्मचारीको मिलेमतोमा भएको आर्थिक हिनामिनामा इन्स्योरेन्सका सीईओ प्रविण रमण पराजुलीको समेत अघोषित समर्थन रहेको गत मंगलबार नेपाल बीमा प्राधिकरणमा गरिएको उजुरीमा दाबी गरिएको छ । यसअघि पनि विभिन्न अनियमितताको खबर बाहिरिए पनि ढाकछोप हुँदै आएकोमा यस पटक भने छानबिन नै गर्न बीमा कम्पनीहरूको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणमा उजुरी परेपछि प्राधिकरणका कर्मचारीहरू तनाबमा देखिएका थिए । नेपाल लाइफले आफूलाई नम्बर एक कम्पनी भएको दाबी गर्दै आएको छ ।

प्राधिकरणमा दर्ता भएको उजुरीमा नेपाल लाइफ इन्स्योरेन्समा इन्स्योरेन्सकै उच्च तहका कर्मचारी डीजीएम उमापति पोखरेलको समेत मिलेमतोमा भएको आर्थिक हिनामिनामा उच्च तहका कर्मचारी जोगाउनकै लागि इन्स्योरेन्सले तल्लो तहका कर्मचारीलाई निकालेर ढाकछोप गरेको दाबी गरिएको छ । तत्कालीन प्रदेश प्रमुख रहेका प्रेम प्रसाद अर्याल आर्थिक अनियमितता गरेकाले सेवाबाट बर्खास्त गरेका उनले सो रकम अनियमितता गरि नेश्नल सेल्स हेडका रुपमा काम गरिहेको उमापति पोखरेलसँग भाग लगाएको भएपनि कम्पनीले अर्याललाई मात्र कारबाही गरेको र अनियमितता भएको रकम मिलान गर्न अर्यालले रकम दिएपनि पोखरेलले नदिएर आर्थिक भार अर्याललाई मात्र पारिएको उजुरीमा भनिएको छ । साथै पोखरेलले जागिर बचाइदिन्छु भनी सम्पूर्ण भार बोक्न लगाएर पछि जागिरबाट नै निकालेकाले प्रेमप्रसाद अर्याल र उमापतिबीच भएको कारोबार के–कति हो छानबिन गर्न समेत उजुरीमा माग गरिएको छ ।

उजुरीमा प्रेमप्रसादले प्रयोग गरेका विभिन्न अवैधानिक एजेन्सी कोड, निजले विभिन्न बीमितको नामबाट अनधिकृतरूपमा निकालेको ऋण तथा समर्पणहरू र उमापतिको व्यक्तिगत खाताबाट उनी तथा उनको परिवारजनको खातामा रकम पठाएको भनी जानकारी प्राप्त भएकोले सो समेत छानबिन गरी उनलाई समेत कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

हालै मात्र बीमितको रकम विभिन्न कर्मचारीहरू मिलेर ऋण तथा समर्पण, अवधि भुक्तानी र परिपक्वता भुक्तनीमा व्यापक अनियमितता भई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न मितिमा विभिन्न कर्मचारीहरूलाई आर्थिक अनियमिता गरेको कारण सेवाबाट बर्खास्त समेत गरेकोले बर्खास्त गर्दा के–के कसुरमा कारबाही भएको, कारबाहीको प्रक्रिया कस्तो थियो र अनियमितताको बिगो कसरी असुल भयो वा भएन सोको सम्पूर्ण विवरण माग गरी सोको अध्ययन बीमा प्राधिकरणबाट हुन उजुरीमा माग गरिएको छ ।

यस्ता अनियमिततामा ठूला कर्मचारीको समेत संलग्न हुँदा उनीहरुलाई जोगाउनकै लागि लुकाउने गर्नाले साना तथा पहुँच नभएका कर्मचारीको प्रयोग हुने र ती कर्मचारी कारबाहीमा पर्ने तथा मतियारको रुपमा रहेको सिमित व्यक्तिहरुले उन्मुक्ति पाइरहने अवस्थाका कारण समस्त विमा क्षेत्र नै तहसनहस हुने अवस्थाको सिर्जना हुने भएकाले यस मामलालाई गम्भीररुपमा लिई यथाशक्य चाँडो आवश्यक कदम चाल्न उजुरीमा विमा प्राधिकरणलाई अनुरोध गरिएको छ ।
आर्थिक दैनिकमा खबर छ ।