छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१६ पक्नाजोलस्थित सबल क्याफे एण्ड खाजा घरबाट अवैध लागूऔषध आइस ड्रग्स ३ ग्राम ५ मिलिग्राम, चरेश २ सय ६४ ग्राम, लाइजरजिक एसिड डाइथेलामाइड १३ पिस र पोल्याण्ड ३८ ग्राम र नगद ४९ हजार रूपैयाँसहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना जापानिज नागरिक युचिरो अबेमास्तु र ३ जना नेपाली रहेका छन् । उक्त खाजा घरमा अवैध लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ९२ किलोसहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका १८ वर्षीय किशोर समेत ३ जना रहेका छन् । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले हेटौंडातर्फ आउँदै गरेको बीआर ०१ बीएन १५१८ नम्बरको कारलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

साथै बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय अक्ष कुमार थारु रहेका छन् । प्रहरी वृत्त मदनचोकबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने २२ वर्षीय समिर दर्जी समेत २ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

साथै कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ७० मिलिग्रामसहित एक जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पलिया बस्ने २४ वर्षीय मनोज सिंह रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम र नगद १० हजारसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५२ वर्षीया तस्लिमा बिबि समेत ३ जना रहेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको
हो ।

यसैैगरी मोरङको बिराटनगर महानगरपालिका–१८ मुसरी टोल नजिकबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बुद्धनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरूले बोरा फाली फरार भएपश्चात जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।