७१ वर्षे बृद्धलाई पैसा नभएको चेक दिएर चलचित्र निर्देशक रिजाल र डा. भट्टराई ‘सम्पर्कविहिन’ !

दियो पोस्ट  

 

काठमाडौं । काठमाडौंको माछापोखरी चोकैमा धादिङका चक्र बहादुर भण्डारीले भव्य घर किनेको थिए । काठमाडौं शहरका अधिकांश घर भाडामा लगाए जस्तै उनले पनि भाडा सम्झौता गरेरै एउटा समुहलाई अस्पताल संचालन गर्ने उद्देश्यसहित घर भाडामा दिए । भाडामा लिने व्यक्तिहरु थिए–हेल्थवाइज पोलिक्लिनिक्स प्रा.ली संचालक विजय भट्टराई र चलचित्र निर्देशक लक्ष्मण रिजाल ।
रिजाल र भट्टराईको संयुक्त लगानीमा भण्डारीको उक्त घरमा गन्तव्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली सञ्चालन गर्ने उनीहरुको तयारी थियो । साँढे ५ तलामा बनेको उक्त घर प्रयोग गरेबापत उनीहरुले भाडा नदिएपछि यतिबेला भण्डारीको परिवार विक्षिप्त बनेको छ ।
रिजाल र डा. भट्टराईले भाडा बापतको चेक समेत नसाटिएपछि यतिबेला भण्डारी विभिन्न निकायमा धाउन थालेका छन् । केहीदिन अघि महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिनका लागि पुगेका उनले आफूमाथि रिजाल र भट्टराई दुवै मिलेर ठगी गरेको भन्दै प्रहरीमा गुनासो सुनाउँदै थिए ।
प्रहरीका अनुसार भण्डारीलाई रिजालले दिएको एक करोड ७ लाख रुपैयाँको चेक बाउन्स भएको छ । त्यस्तै डा. भट्टराईले दिएको ६७ लाख रुपैयाँको चेक पनि बाउन्स भएको छ ।
२०७९ फागुन १० गते लिखित सहमति गरेरै रिजालले उनलाई चेक दिएका थिए । तर, दुवै बैंकको चेक नसाटिएपछि प्रहरीसम्म यो विषय पुगेको छ ।
बाँकेको कोहलपुर घर भएका डा. भट्टराईले काठमाडौंमै हेल्थवाइज पोलिक्लिनिक संचालन गर्दै आएका छन् । त्यस्तै रिजाल भने आफूलाई फिल्म निर्देशक समेत बताउँने गर्छन् । उनको स्वामित्वमा रिजाल एण्ड रिजाल प्रडक्सन संचालनमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले जाहेरी दर्ता गरेर उनीहरु विरुद्ध पक्राउ पुर्जी निकाल्ने तयारी गरेको छ ।
२०७९ पौष २१ गते भएको सम्झौतामा उनीहरुले दिएको चेक नसाटिए बैंकिङ कसुरमा मुद्दा चलाउने सहमति उल्लेख छ ।
जन्मस्थान धादिङको दार्खा बताउने रिजाल मार्फत नै आफू ठगीएको पीडितहरुको गुनासो छ ।
कम्पनि रजिष्टार कार्यालयबाट उनीहरुले दन्त चिकित्सक सम्बन्धी कार्यका लागि भनेर अनुमति लिएको कागजातमा उल्लेख छ । दियोपोस्टको सम्पर्कमा आएका डा. विजय भट्टराईलाई यस विषयमा बुझ्न सम्पर्क गर्दा आफूले ६७ लाख रुपैयाँको चेक दिएको बताए । तर, केही बेरमा पीडितलाई सम्पर्क गर्ने बताएका उनले हालसम्म पीडितलाई सम्पर्क गरेका छैनन् ।

 

समाचार बन्ने विषय होइन : रिजाल
यता अस्पताल संचालक तथा चलचीत्र निर्देशक समेत बताउने लक्ष्मण रिजाल भने यस्तो विषयमा समाचार नबनाउन आग्रह गर्छन् ।
‘मैले अस्पताल संचालन गर्छु भनेर उहाँको घर भाडामा लिएको हुँ । एक करोड सात लाख रुपैयाँको चेक पनि दिएको हुँ । मैले पैसा तिर्ने नियत राखेर नै उक्त चेक दिएको हुँ । तर, अहिले देशैभरी आर्थिक अवस्था के छ भन्ने तपाईंलाई पनि थाहा होला,’ रिजालले भने,‘यस्तो विषय समाचार बन्नु पर्ने होइन । म पनि १० वर्षअघि मिडियामै काम गरेको व्यक्ति हुँ । मेरा धेरै साथीहरु मिडियामा छन् ।’
उनले आफूले तिर्नुपर्नेभन्दा बढी नै चेक घरबेटी भण्डारीलाई दिएको दाबी गरे ।