प्रकाशित समाचार हटाउन ऋषि धमला निकट व्यक्तिको निरन्तर धम्की, कार्यालयमा आउने चेतावनी

कमल विश्वकर्मा  

काठमाडौं । ठगी आरोप लागेका प्राइम टाइम टेलिभिजनका मालिक तथा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले विभिन्न व्यक्ति मार्फत दियोपोस्टकर्मीलाई धम्की दिन थालेका छन् । समाचार प्रकाशित भएपछि पीडित पक्षलाई भेटेर यही जेठ १४ गतेको मितिमा साटिने गरि १० लाख रुपैयाँको चेक थमाएका धमलाले पीडितलाई नै होस्टायल गरेर धम्की दिएका हुन् ।

ठगीबारेको समाचार हटाउन भन्दै ९८४००१००५० नम्बरबाट फोन गर्दै केशर लामा नाम गरेका व्यक्तिले धम्की दिएका छन् । उनले यो समाचार तयार पार्दै गर्दा दियोपोस्टका प्रकाशक सुदीप विश्वकर्माको मोबाइलमा फोन गरि तपाईंको अफिसमा हामी अहिले नै आउँछौँ भन्दै धम्की दिएका छन् ।
समाचार प्रकाशित भएपछि पत्रकार धमलाले पनि समाचार हटाइदिन र आफूहरुको व्यवहार मिलिसकेको बताएका थिए । उनकै टेलिभिजनमा कार्यरत ऋषि थपलिया नाम गरेका व्यक्तिले पनि सहजिकरण गरिदिन भन्दै आग्रह गरेका छन् ।

धमलाले पीडितलाई होस्टाइल गरेर आफ्नै टेलिभिजन मार्फत बयान चेन्ज गराउने कोशिस गरेका छन् । उनले केहीबेरमा पीडित भनिएका कपिल भट्टलाई बयान परिवर्तन गराएर समाचारको खण्डन गराउने तयारी गरेका छन् । जबकी समाचारको खण्डन सम्बन्धित संचार माध्यमबाटै गर्नुपर्ने प्रेस काउन्सिल आचार संहितामा उल्लेख छ ।

धमलाले धादिङको सांकोष घर भएका कपिलदेव भट्टलाई जापान पठाइदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ असुल गरेको आरोप छ । आरोपबारे दियोपोस्टले भिडियो बयानसहितको समाचार प्रकाशन गरेको छ । प्रकाशित समाचारबारे चित्त नबुझे प्रेस काउन्सिल मार्फत खण्डन गर्न पाउने अधिकार हुँदा हुँदै धमलाले विभिन्न व्यक्ति लगाएर धम्की दिएका हुन् ।