धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका ३ स्थित शमीभञ्ज्याङ माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ती विवादमा परेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन भट्टले केही दिनअघि सामाजिक सञ्जालमार्फत सोही विद्यालयमा कार्यरत निम्नमाध्यमिक तृतिय शिक्षक बद्रि अर्याललाई माध्यमिक तहको प्राधानाध्यापक नियुक्त गरेको जानकारी गराएका थिए । तर, सोही विद्यालयमा कार्यरत माध्यमिक तहका स्थायी दरबन्दी रहेका सिनियर शिक्षक हेमराज भट्टसहितका शिक्षकलाई लत्याएर कांग्रेस निकट शिक्षक संगठनका सचिव बद्रि अर्याललाई नियुक्त गरिएको आरोप छ । विवादित प्राधानाध्यापक नियुक्ती गरेर अध्यक्ष भट्ट जापान उडेको आरोप छ । उनकी श्रीमती जापानमा रहेका कारण भट्ट जापानमै स्थायी बसोबासका लागि उडेको स्रोतले बताएको छ ।
शमिभञ्ज्याङ्ग माध्यमिक विद्यालयको प्रअ नियुक्तीलाई लिएर विभिन्न संगठनले समेत विरोध जनाएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन, र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनले संयुक्त विज्ञप्ति निकाल्दै निरंकुश शैलीमा कनिष्ठ स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेको निर्णय प्रति विरोध गरेको हो । उनीहरुले तत्काल उक्त निर्णय बदर गर्न समेत माग गरेका छन् । ज्वालामुखि गाउँपालिकाले प्रचलित नेपालको शिक्षा ऐन, २०४८, शिक्षा नियमावली २०५९ र शिक्षक सेवा आयोग नियमावली २०५७ सँग बाँझिने गरि अप्रत्यासित नियोजित ढंगले ल्याएको ज्वालामुखि गाउँपालिकाको शिक्षा ऐन, २०७९ प्रति सरोकारवालाहरु जानकार रहेको भन्दै विज्ञप्तिमा बाझिने नियमका कारण नकारात्मक प्रभाव परेको दाबी गरेको छ । मैदीको शमिभञ्ज्याङ्ग माविमा भएको प्रधानाध्यापक नियुक्ती शिक्षा ऐन २०२८ को दफा १२ विपरित गठन भएको विद्यालय व्यवस्थापन समितिले शिक्षक नियमावली २०५९ (संशोधनसहित)को नियम ९३ विपरित रहेको जिकिर विज्ञप्तिमा छ ।

सो विद्यालयमा ६ जना माध्यमिक तहका स्थायी शिक्षकहरु हुँदा हुँदै गत वैशाख १२ गते शिक्षा ऐन विपरित शिक्षकहरुसँग छलफल समेत नगरी चार जना विद्यालय व्यवस्थापन समितिका सदस्यहरु मात्रै बसेर निर्णय गरेको शिक्षक संगठनहरुले जनाएका छन् ।
गत मंसिर २३ गते शिक्षा विकास तथा समन्वय ईकाईले ज्वालामुखि गाउँपालिकालाई शमिभञ्ज्याङ्ग माध्यमिक विद्यालयको प्रअ नियुक्ती गर्दा कानुन अनुसार गर्न पत्राचार गरेको थियो । तर, शिक्षा विकास तथा समन्वय ईकाईको पत्रलाई समेत लत्याएर शमिभञ्ज्याङ्ग माध्यमिक विद्यालयमा प्रअ नियुक्ती भएको आरोप छ ।
यस विषयमा प्रतिक्रियाका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन भट्टलाई सम्पर्क गर्दा उनको फोन स्विच्ड अफ छ ।