काठमाडौं, २९ वैशाख । चर्चित हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती निर्माण कार्य सुरु गरेका छन् ।
भूकम्पको एकवर्ष पुगेको दिन शिल्यान्यास गरिएको उक्त बस्ती निर्माणको कार्य विहीबारबाट सुरु गरेका हुन् । सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पिडितलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्य राखिएको कट्टेलले बताए ।
पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले फाउण्डेशनलाई आर्थिकसँगै घर निर्माणको लागि सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्तालगायतका जिन्सी समानको पनि उत्तिकै आवश्यकता रहेको धुर्मुसले बताए ।
बस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्म करिब २२ लाख रुपैँयाको हाराहारीमा सहयोग संकलन भएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् । तर, ६५ भूकम्प पिडित तामाङ परिवारका ५ सय १५ जना सदस्यको आश्रयस्थल निर्माण सम्पन्न गर्न ४ करोड भन्दा बढी लाग्ने देखिएको उनको भनाई छ । काम सुरु गरिसकेका छौँ तर पर्याप्त रकम छैन, अन्य अत्यावश्यक भौतिक पूर्वाधारको पनि व्यवस्था गर्नु पर्नेछ त्यसैले सहयोगको निकै जरुरी परिरहेको छ, उनले बताईन् । गिरान्चौर एकिकृत बस्ती मात्र हुने छैन, यो बस्तीलाई बालमैत्री, अपाङ्गमैत्री, खुला दिशामुक्त, सफा र सुन्दर गाउँ बनाइने उनीहरुले बताएका छन् ।
सरकारले तोकेको मापदण्ड अनुसार बस्तीमा भूकम्प प्रतिरोधी चार कोठे घरको साथमा एक घर, एक धारा, एक बगैँचा र एउटा सामुदायिक भवन पनि निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ ।
उनीहरुले सुरु गरेको कामको फोटो भिडियो यस्तो छ ।
फोटो भिडियो : धुर्मुस सुन्तली फाउन्डेसन