काठमाडौँ, १४ जेठ । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले गणतन्त्र ल्याउन नागरिक र राजनीतिक दल एक भए जस्तै यसलाई संस्थागत गर्न पनि सबै एकजुट हुनुपर्ने बताए ।
‘गणतन्त्र दिवस २०७३’ को अवसरमा गृह मन्त्रालय र रेडियो नेपालले संयुक्तरुपमा आयोजना गरेको जागरण गीत सम्मेलनमा मन्त्री राईले ‘‘ठूलो त्याग र वलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्नु सबैको साझा कर्तव्य हो’’भने ।
संविधानले जनताको हक र अधिकारको सुनिश्चित गरिसकेकाले संविधानको कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक सम्बृद्धितर्फ लानु अबको आवश्यकता रहेको पनि उनले भने। जागरण गीतले समाजलाई बुझ्न र परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक धनेन्द्र बिमल क्षेत्रीले नेपाल कला र संस्कृतिले धनी मुलुक भएकाले जागरण गीतले समसामयिक विषयवस्तु बुझ्न र नागरिकलाई सजग बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
गणतन्त्र दिवसको अवसरमा रेडियो नेपालले हरेक वर्ष जागरण गीत प्रगियोगिताको आयोजना गर्दै आएकामा यस वर्ष भने जागरण गीत सम्मेलन गरेको रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख डा नवराज लम्सालले जानकारी दिए ।
कार्यक्रममा कलाकारहरु जेबी टुहुरे,माधव प्रधान, धीरेन्द्र प्रेमश्री, उदय श्रेष्ठ, डा विजय सुब्बा, पवित्रा घर्ती मगर, चेतनारायण राई, जीवन शर्मा, गोपाल ठाकुर, रुविन गन्र्धव नवीन खड्कालगायतले गणतन्त्र संस्थागत गर्ने र स्थायी शान्ति कायम गर्नेजस्ता जागरण गीत गाएका थिए ।