श्रम मन्त्रालयले निम्त्याएका प्रदेश सांसद सिंखडालाई गृहसचिवको आदेशमा नागढुङ्गामा होल्ड !

दियो पोस्ट  

काठमाडौं, ५ जेठ । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष तथा प्रदेश सांसद जगत सिंखडालाई नागढुंगा नाकामा प्रहरीले माथिको आदेश भन्दै ‘होल्ड’ गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबारका लागि बैठकमा बोलाएपछि सांसद सिंखडा सोमबार धादिङबाट काठमाडौं आएका हुन् । काठमाडौं प्रवेश गर्नेक्रममा उनलाई नागढुंगामा ‘गृहसचिवको आदेश’ भन्दै रोकिएको हो ।

मंगलबार ११ बजे मन्त्रालयले बैठकको लागि चिठी काटेको र सो पत्र र उद्योग मन्त्रालयको पास समेत देखाउँदा पनि उनलाई प्रहरीले रोकेको थियो । गृहसचिव महेश्वर न्यौपानेको आदेशमा उनलाई नागढुंगामा रोकीएको हो ।

सिंखडाले उपलब्ध गराएको पत्रअनुसार मन्त्रालयले मंगलबार ११ः २५ बजे सिंहदरबारमा बैठक बोलाएको छ । श्रम मन्त्रीको अध्यक्षतामा बसेको बैठकले लकडाउनका कारण श्रम क्षेत्रमा देखा परेका समस्या तथा असररप्रभाव समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरु सहित सुझाव पेश गर्न कार्यदलको बैठक बोलाइएको पत्रमा उल्लेख छ ।

बैठकमा सांसद सिंखडा अन्टुफको अध्यक्षमा रुपमा सहभागी हुनुपर्नेछ ।

कोरोना महामारी फैलनेक्रम बढेपछि नागढुंगा नाकामा कडाई गरिएको प्रहरीले जनाएको छ । भारतबाट बिना परिक्षण तरकारीको गाडी आइरहँदा मजदुर नेता तथा सांसद सिंखडालाई लकडाउनमा मजदुरकै समस्याबारे मन्त्रालयले बोलाएको बैठकमा जान समेत रोक लगाएकोमा उनले आपत्ति जनाए ।
पृथ्वीराजमार्गस्थित खत्री पौवामा रोकिएका उनलाई उपत्यका प्रमुख डिआइजी विश्वराज पोखरेलको आदेशमा नागढुंगासम्म पुगेका थिए । नागढुंगा पुगेपछि भने ‘तपाईंलाई माथिको आदेश भन्दै रोकिएको थियो । सांसद सिंखडालाई करिब ५ घण्टासम्म प्रहरीले होल्ड गरेर राती भने काठमाडौं प्रवेश दिएको छ ।।