लकडाउनमा नीलकण्ठ नगरपालिकाका मेयर ढुंगानाको रजाइँ : साँढे २ करोड मनमौजी, पार्टीलाई लाखौँ !

लकडाउनमा नीलकण्ठ नगरपालिकाका मेयर ढुंगानाको रजाइँ : साँढे २ करोड मनमौजी, पार्टीलाई लाखौँ !

दियोपोष्ट संवाददाता,

धादिङ, ११ जेठ । धादिङको निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले मनोमानी रुपमा २ करोड ४९ लाख रुपैयाँ बजेट बिनियोजन गरेका छन् ।


कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न सरकारले घोषणा गरेको लकडाउनका बीच मेयर ढुंगानाले रातारात यत्तिका रकम मनोमानी रुपमा बिनियोजन गरेका हुन् ।


जेठ ८ गते नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले एकलौटी रुपमा बजेट बिनियोजन गरेको हो । उपमेयर मनराज भण्डारीसहित केही जनप्रतिनिधिलाई बाइपास गरेर विभिन्न क्षेत्रमा रकम बिनियोजन गरिएको हो । नगरसभाको निर्णय विपरित आगामी नगरसभाबाट पारित गराउने भन्दै ढुंगानाले विभिन्न क्षेत्रमा २ करोड ४९ लाख बिनियोजन गरेका हुन् ।


दियोपोष्टले प्राप्त गरेको बैठकको निर्णय नम्बर ४ मा भनिएको छ,– ‘पाँचौँ तथा छैटौँ नगरसभाबाट विभिन्न शीर्षक कार्यक्रम तथा आयोजनामा छुट्याइएको रकम मध्ये बचत हुने रकमबाट आगामी नगरसभाबाट अनुमोदन हुनेगरी देहाय बमोजिमको आयोजनाहरुमा रकम बिनियोजन गरी उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने निर्णय गरियो ।’


ढुंगानाले आफू र आफ्नो पार्टी नेपाली कांग्रेस निकट वडामा धेरै बजेट खन्याएका छन् । नेपाली कांग्रेसले जितेको वडा नम्बर ७ मा उनले ८ वटा योजनामा बजेट खन्याएका छन् ।

नगरपालिकाका प्रवक्ता तथा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गौतमहरी अधिकारी सो वडाका वडाध्यक्ष हुन् । उनको वडामा मात्रै ५४ लाख २५ हजार रुपैंया छुटइएको नगरपालिकाको निर्णयमा देखिन्छ ।


कांग्रेस पार्टी कार्यालयलाई १० लाख रुपैयाँ

नेपाली कांग्रेसबाट निर्वाचित मेयर ढुंगानाले जिल्ला पार्टी कार्यालय निर्माणका लागि समेत लाखौं रकम छुट्याएका छन् ।

बैठकको निर्णय अनुसार वि.पी स्मृति भवन मर्मत संभारका लागि १० लाख रुपैयाँ छुट्याएका छन् । धादिङको बीचबजार मिलनटोलबाट भित्र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय अवस्थित छ ।


पत्रकार महासंघदेखि धर्मप्रचारकलाई समेत बजेट


ढुंगानाले मिडियामा लाखौँं बजेट खन्याएको विषयमा यसअघि नै दियोपोष्ट डटकमले समाचार प्रकाशन गरिसकेको छ । आफ्ना विरुद्धको प्रचार रोक्न सञ्चार माध्यम र पत्रकारलाई ढुंगानाले लाखौं रुपैयाँ मनमौजी रुपमा बाँढेको उनकै कार्यपालिका सल्लाहाकार दीपक कोइरालाले बताएका थिए । लकडाउनका समयमा गरिएको बजेट बिनियोजनमा पनि पत्रकार महासंघलाई नगरपालिकाले ५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

त्यस्तै धार्मिक संस्था आत्मज्ञान प्रचार केन्द्रलाई समेत ५ लाख रुपैयाँ बिनियोजन गरेको रेकर्डमा देखिन्छ । त्यस्तै गरी क्रिस्चियन धर्म प्रचारक संस्थालाई समेत उनले लाखौँ रकम छुट्याएको निर्णयमा देखिन्छ । प्राप्त निर्णय अनुसार सिकिल एबेनेजर चर्च कम्पाउन्ड वाल निर्माणका लागि २ लाख ५० हजार रुपैया बजेट विनियोजन गरिएको छ ।

यस्तै एक गैह्र सरकारी संस्था (एनजिओ)लाई समेत बजेट छुट्याइएको छ । कार्यपालिकाको निर्णय अनुसार सहयात्री समाज नेपाल नामक एनजियोलाई ५ लाख रुपैँया बजेट छुट्याइएको छ ।

अख्तियार आकर्षित हुनसक्छ : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय


यस विषयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता सहसचिव बसन्त अधिकारीलाई सम्पर्क गर्दा उनले नगरपालिकाले यसरी निर्णय गरेको भए अख्तियार दुरुपयोग अनुसन्धान आयोग आकर्षित हुन सक्ने बताए ।


‘स्थानिय सरकार सञ्चालन ऐनमा कुनै पनि नगरपालिका गाउँपालिकाले आगामी नगरसभा वा गाउँसभाबाट अनुमोदन हुनेगरी भनेर खर्च गर्न पाउने प्रावधान छैन,’ उनले दियोपोष्टसँग भने,‘यदि यसरी बजेट बिनियोजन गरेको भए कागजात सहित अख्तियारमा पुगे कारबाही हुनसक्छ ।’


अख्तियार प्रवक्ता भन्छन्,‘प्रमाणसहित आए कारबाही हुन्छ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले नेपालको संविधान र कानुन अनुसार कसैले प्रमाण सहित आयोगमा उजुरी दिए कारबाही अगाडी बढाउने प्रतिक्रिया दिए ।


प्रशासकीय अधिकृत भन्छन्,‘कार्यापालिकाको निर्णय मलाई थाहा छैन’


नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्याललाई दियोपोष्टले सम्पर्क गर्दा उनले नगरकार्यपालिकाको निर्णय आफूलाई जानकारी नभएको बताए । ‘मलाई थाहा छैन । प्रवक्तालाई नै सोध्नुस्’ उनको प्रतिक्रिया थियो ।


प्रवक्ता भन्छन्,‘हाकिम साप्लाई सोध्नुस् मलाई निर्णय थाहा छैन ।’


नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष गौतम हरी अधिकारीले आफूलाई निर्णयको विषयमा केही थाहा नभएको प्रतिक्रिया दिए ।

‘म बैठकमा उपस्थित थिएँ । तर मलाई निर्णय थाहा छैन,’ प्रमुख प्रशासकीय अधिकृततर्फ इंगित गर्दै उनले भने,‘हाकिम सापलाई सोध्नुस् । प्रमुख प्रशासकीय अधिकृतलाई थाहा छ ।’

Trending News