काठमाडौँ, १३ जेठ । पूर्वगृमन्त्री एवं नेकपा सांसद जनार्दशन शर्माका कारण प्रतिनिधि सभामा हंगामा भएको छ । रुकुम घटनाबारे शर्माले विवादास्पद अभिव्यक्ति दिएको भन्दै सांसदहरुले विरोध गरेका हुन् ।
रुकमबाट निर्वाचति सांसद शर्माले केटा पक्ष केटीको घरमा पुगेर झडप भएको बताएपछि संसदमा विपक्षी कांग्रेसका सांसदहरुले विरोधमा उठेर होहोल्ला र नाराबाजी गरेका हुन्।
पूर्वगृहमन्त्री समेत रहेका शर्माले संसदमा भने, ‘वीरबहादुर मल्लको घरमा नवराज विकसहितको व्यक्ति पुगेपछि झडप सुरु भएको हो। घटना लगत्तै वडाअध्यक्षले प्रहरी बोलाए। दुई पक्षबीच झपड हुँदै भेरी नदीसम्म आइपुगेको थियो।’
शर्माले यसो भनिरहँदा विपक्षी दलका सांसदहरुले उनको भनाइमा आपत्ति जनाउँदै आफ्नो ठाउँबाट उठेका थिए। कांग्रेसका सांसद प्रकाश स्नेहीले पूर्व गृहमन्त्रीहरुको सहयोगमा घटनालाई दबाउन खोजेको भन्दै आपत्ति जनाए।
स्नेहीको भनाइप्रति आपत्ति जनााउँदै शर्माले आफूले संसदमा बोल्ने पाउने अधिकारमा हस्तक्षेप गरेको भन्दै विरोध जनाए।
उनले जनप्रतिनिधका हिसाबले घटनाको छानबिन गर्न सहयोग गर्न तयार बताए। होहल्ला भइरहँदा शर्माले आफू सम्बन्धित जिल्लाको जनप्रतिनिधि भएकाले बोल्न पाउनु पर्ने बताएका थिए ।
आफ्नो बोल्ने अधिकार खोसिन नहुने भन्दै उनी आक्रोशित भए । सभामुख अग्नि सापकोटाले सांसदलाई शान्त रहन आग्रह गरे भने शर्मालाई गम्भीर विषय भएकाले संयमित रुपमा आफ्नो भनाई पूरा गर्न आग्रह गरे ।
त्यसपछि उनले भने, ‘घटनाको छानबिनको लागि संसदीय समिति बनाउन आवश्यक छ। घटनाको छानबिन गर्नुपर्छ। जनप्रतिनिधको रुपमा सहयोग गर्छु। मेरो बोल्ने अधिकार हनन् हुनु भएन।’
सांसद शर्माले घुमारो तरिकाले उक्त घटनालाई जातिय हिंसाबाट मोड्ने कोशिस गरेका थिए ।