आफूभन्दा सिनियर १० एसएसपीको ‘छातीमा टेकेर’ रकेट शैलीमा बढुवा भएका थिए पोखरेल !

दियो पोस्ट  

 

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापा क्षेत्री आजै अवकाश पाउँदैछन् । उनीपछि एआइजी विश्वराज पोखरेल, सहकुल थापा, धिरज प्रताप सिंह र रविन्द्र धानुक मध्ये एकलाई प्रहरी महानिरिक्षक बनाउने सरकारको तयारी छ । सरकारले संभवत आजै आइजी नियुक्तीको टुंगो लगाउँदैछ । तर, केही संचार माध्यमले तीन एआइजी मध्ये पोखरेल मात्रै एकल दावेदार र बरिष्ठ रहेको दाबी गरिरहेका छन् । पोखरेलले नेपाली कांग्रेसका नेता रामहरी खतिवडा र गगन थापालाई प्रयोग गरेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आफू मात्रै सिनियर रहेको र बरिष्ठताका आधारमा आइजी नियुक्ती नभए अदालत जाने धम्की दिइरहेका छन् ।

शनिबार मात्रै थापा र खतिवडा पोखरेललाई आइजी बनाउनुपर्ने भन्दै बालुवाटार पुगेका थिए ।

खतिवडा ओखलढुंगाका पूर्व सांसद हुन । एआइजी पोखरेल पनि ओखलढुंगाकै हुन् ।

तर, आफूलाई मात्रै बरिष्ठ बताउँदै आएका एआइजी पोखरेलको बढुवा नै शंकाष्पद र विवादित छ । कुनै समय डिएसपीमा २० नम्बरमा उनको नाम थियो । १ नम्बरमा थिए हाल एआइजी धिरज प्रताप सिंह । उनै सिंहभन्दा आफू सिनियर रहेको उनको दाबी छ । तर, उनको दाबी नै शंकाको घेरामा छ ।

उनलाई नजिकबाट बुझ्नेहरु पोखरेललाई केपी ओलीको सरकारले रकेट शैलीमा बढुवा गरेको बताउँछन् ।

एकै दिन प्रहरी प्रहरी सेवामा प्रवेश गरेका पोखरेल, थापा, सिंह र धानुक मध्ये पोखरेल कसरी बरिष्ठ भए ?

प्रहरीका एक जना डिआइजीको दुखद निधनपछि पोखरेलको जीवनमा भने सुखद परिवर्तन आएको हो । २०७६ कार्तिक १० गते काभ्रेका् मण्डन देउपुरीमा सवारी दुर्घटनामा परि डिआइजी सुशील भण्डारीको दुखद निधन भयो । जतिबेला पोखरेल एसएसपी नै थिए ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७६ वैशाखमा उनै पोखरेललाई भण्डारीको निधनपछि खाली भएको स्थानमा डिआइजी नियुक्त गर्ने निर्णय गरेको थियो । जबकी कार्यसम्पादन मुल्यांकनमा उनीभन्दा सिनियर, सेवा प्रवेशमा पनि अगाडी रहेका थुप्रै एसएसपीहरु थिए ।

हालका प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँगै १९ वैशाख २०४९ मा भर्ना भएका गणेश ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, किशोर दाहाल, राजेन्द्र चौधरी, नवराज भट्ट, रामकृपाल शाह, उमेश रञ्जितकार, विरेन्द्र बस्याल र सौरभ राणहरु एसएसपी नै थिए । यी मध्ये कतिपय एसएसपीबाटै अवकास पाए ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको चाकडीकै आधारमा उनलाई अस्वभाविक बढुवा गरिएको थियो । त्यसलगत्तै पोखरेल विना विभागिय उपप्रधानमन्त्री भएकै बेला गृहमन्त्रीलाई समेत थाहा नदिई २०७७ मंसिरमा विश्वराजलाई एआइजीमा बढुवा गरिएको थियो ।

हजारौँ सई तथा असईहरुका लागि १७ वर्षसम्म बढुवा रोकेर अन्याय गर्ने सरकारले पोखरेलको हकमा भने एआइजीको दरबन्दी थप गरेरै बढुवा गरिएको थियो । त्यतिबेला महानगरिय प्रहरी कार्यालयमा रहेका पोखरेललाई विवादास्पद बढुवा गरिएको थियो ।

जबकी प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एआइजीको बढुवा रोक्न निर्देशन दिएको थियो ।

तत्कालिन एमाले सरकारले आगामी निर्वाचनमा प्रहरी आफू अनुकुल दुरुपयोग गर्ने उद्देश्यले १७ महिना पहिले नै पोखरेललाई बढुवा गर्दै आएको थियो । ‘उहाँको बढुवा नै १० जना आफू भन्दा सिनियर प्रहरी अधिकृतहरुको छाती टेकेर गरिएको छ । उहाँले कसरी म सबैभन्दा सिनियर भन्न सक्नुहुन्छ,’ अवकास प्राप्त एक डिआइजी भन्छन्,‘यदि उहाँको नियुक्ती अहिले गरियो भने यसले प्रहरीमा कस्तो सन्देश जान्छ । प्रहरी अधिकारी संगठन प्रति प्रतिबद्ध रहन्छन् की दल वा नेता प्रति भन्ने गलत सन्देशले घर गर्नेछ ।’