काठमाडौं । प्रभु बैंकको व्यवस्थापकीय खराबीका कारण बैंकको करोडौं रुपैयाँ गायब भएको छ । सर्वसाधरणले अनलाइन मार्फत कारोबार गर्दा बैंकले व्यवस्थापन गर्न नसकेपछि सयौँ सर्वसाधरणको खातामा लाखौँ रकम पुगेको छ । कतिपयले रकम निकालेर आफूखुसी चलाएका छन् ।
बैंकको टेलिफोन नम्बर ०१—०४७८८५०९ मा सम्पर्क गरेर यस विषयमा प्रतिक्रिया लिँदा एक घण्टाका लागि सिस्टममा खराबी आएर सर्वसाधरणको खातामा रकम गएको ती कर्मचारीले बताए । ‘उहाँहरुको खातामा पैसा गएको हो । फिर्ता हुने क्रम जारी छ । यदि पैसा फिर्ता दिनुभएन भने प्रहरीमा उजुरी दिएर छानबीनमा राख्नेछौँ,’ मोबाइल बैंकिङ्ग शाखाका ती कर्मचारीले दियोपोस्टसँग भने,‘फिर्ता नदिनेलाई कारबाही गर्न प्रहरीलाई भनिसकेका छौँ ।’
खाताबाट रकम फिर्ता नगर्ने सर्वसाधरणलाई प्रहरी लगाएर थुन्ने प्रभु बैंकको तयारी छ । तर, लापरबाहीमा संलग्नमाथि भने हालसम्म कुनै कारबाहीको तयारी गरेको चाल पाएको छैन ।
स्रोतका अनुसार सोमबार र मंगलबार निरन्तर यस्तो समस्या आएको हो । यो तहको लापरबाहीका कारण बैंकको ४२ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको छ । त्यसमध्ये कही रकम उठेपनि हालसम्म करोडौँ रकम उठ्न सकेको छैन ।
प्रभु बैंकमा प्रमुख अपरेटिङ्ग अफिसरको रुपमा रश्मी पन्त कार्यरत छिन् । उनकै व्यवस्थापकीय कमजोरीका कारण बैंकले यतिका रकम गुमेको स्रोत बताउँछ । पन्तलाई प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको संरक्षण रहेको छ । उनकै कृपाका कारण पन्त असक्षम भएपनि सिओओको रुपमा कार्यरत छिन् ।
यस विषयमा प्रतिक्रिया लिन उनको नम्बरमा पटक पटक फोन गर्दा उनले फोन उठाइनन् ।
हामी बैंकलाई बुझ्छौँ : राष्ट्र बैंक प्रवक्ता भट्ट
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले आफू कार्यक्रममा रहेकोले उक्त विषय जानकारीमा नआएपनि आफूले बुझ्ने बताए ।