निवर्तमान महालेखा परिक्षक टंकमणी शर्माले करोडौँ अनियमितता ढाकछोप गरेको आरोप

दियो पोस्ट  

काठमाडौं । निवर्तमान महालेखा परिक्षक टंकमणी शर्माले विभिन्न सरकारी निकायको अनियमितता ढाकछोप गरेको खुलाशा भएको छ । महालेखाको प्रारम्भिक प्रतिवेदनमा कैफियत देखाएका ठूला अनियमितता ढाकछोप गर्ने गम्भिर अपराधमा शर्मा लागि परेको खुलाशा भएको हो ।

 

उनी महालेखा परिक्षक रहँदा संसद सचिवालय भित्र भएको अनियमितता ढाकछोप गरेको भेटिएको छ । त्यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोषका तत्कालिन कार्यवाहक सीईओ अर्जुन भण्डारीले गरेको अनियमितता पनि उनले ढाकछोप गरेका थिए । अनियमितता ढाकछोप गरेकै कारण विचौलिया र शक्तिकेन्द्रबाट शर्माले अकुत सम्पत्ति हात पारेको समेत स्रोत बताउँछ ।
उनले अख्तियार, प्रधानमन्त्री कार्यालयसँग बैठक बस्ने र सेटिङ्गमा महालेखा परिक्षकको प्रतिवेदन ल्याउने गरेको समेत खुलेको छ । सरकारी अनियमितताबारे प्रश्न गर्ने महालेखाले प्रधानमन्त्री कार्यालय र अख्तियार लगायतका निकायमा भएका अनियमितता ढाकछोप गर्दै आएको तथ्य खुलेको छ ।
शर्माकै कार्याकालमा संघीय संसद सचिवालयमा भएको अनियमिततालाई गुपचुप पार्न महालेखा परिक्षकको कार्यालयले भूमिका खेलेको भेटिएको छ ।

नायब महालेखा परिक्षक घनश्याम पराजुलीको टोलीले संसद सचिवालयमा करारमा कर्मचारी नियुक्ती, ६ करोडसम्मका विभिन्न खरिद, भ्रमण खर्चसम्ममा करोडौँ अनियमितता भएको देखाएको थियो । तर, शर्माकै दबावमा उक्त प्रकरण महालेखाको प्रतिवेदनमा गायब पारिएको छ ।
यस्तो कार्यमा अख्तियार, सार्वजनिक लेखा समिति र प्रधानमन्त्री कार्यालयको समेत संलग्नता रहने स्रोत बताउँछ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्याकालमा भएका अधिकांश ठूला अनियमिततालाई लुकाउने काममा शर्मा सक्रिय थिए । सार्वजनिक संचार माध्यममा समेत आएका ठूला काण्डलाई महालेखा परिक्षकको प्रतिवदनबाट गायब पारिएको छ ।

महालेखाको प्रतिवेदनमा गाउँपालिका तथा सामान्य ठेकेदार मात्रै होइन उपभोक्ता समितिले १ हजारको बेरुजु निस्किएपनि तथ्य र विवरण खुलाइने गरेको थियो । तर, अर्थमन्त्रालय मातहतमा रहेका ठूला कर छली गर्ने कम्पनि तथा गिरोहको नाम भने सेटिङ्गमा गोप्य राखिएको छ । सार्वजनिक भएका अधिकांश महालेखा परिक्षक प्रतिवेदनमा ठूला भ्याट छली देखि अनियमितताको भने गोपनियताको ख्याल गरेर कम्पनि र फर्मको नाम लुकाइएको छ । तर, सानाहरुको नाम नाम ठेगाना खुलाइएको छ । यस्तोमा समेत महालेखा परिक्षकले मिलेमतो गर्ने गरेका छन् ।