भण्डारी पक्राउको घटनाले प्रहरीमा विवाद : आइजीले बनाए छानबीन टोली !

दियो पोस्ट  

काठमाडौं । सरकारी लिखत किर्ते कसुरमा सुरक्षा न्युज डटकमका सञ्चालक मदनबाबु भण्डारी पक्राउ परेको घटनाले प्रहरी भित्र चर्को विवाद शुरु भएको छ ।

पक्राउपछि धरौटीमा छुटेका उनको ल्यापटप र मोबाइल हालसम्म पनि फिर्ता नभएको भन्दै जिल्ला अदालत काठमाडौंले प्रहरीको नाममा पटक पटक आदेश दिएको र सो आदेश कार्यान्वयनको विषयमा प्रहरी प्रधान कार्यालयले छानबीन टोली नै गठन गरेको छ ।


जिल्ला अदालत काठमाडौंको आदेश कार्यान्वयन नभएपछि प्रहरी प्रमुख बसन्त बहादुर कुँवरले छानबीन टोली गठन गरेका हुन् । अपराध अनुसन्धान विभागका डिआइजी सुरेन्द्र मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबीन समिति बनाइएको हो । समितिको सदस्यमा सिआइबीका एसएसपी दिनेश कुमार आचार्य र ईन्सपेक्टर दिपक घिमिरे रहेका छन् ।अनुसन्धान टोलीलाई २ दिन भित्र प्रतिवेदन दिन समय तोकिएको छ ।

टोली गठन भएको जानकारीसहितको पत्रमा आइजी बसन्त बहादुर कुँवरले नै हस्ताक्षर गरेका छन् ।
स्रोतका अनुसार भण्डारीले आफूलाई गैरकानुनी रुपमा थुनामा राखेको, आफ्ना ल्याप्टप मोबाइल लगायत सामाग्री जफत गरि अदालतको आदेश आउँदा समेत फिर्ता नगरेको भन्दै केहीदिन अघि गृहमन्त्रालयमा उजुरी दिएका थिए । गृहको निर्देशन अनुसार आइजी बसन्त कुँवरले छानबीन समिति बनाएका हुन् ।

के थियो जिल्ला अदालत काठमाडौंको आदेश ?

जिल्ला अदालत काठमाडौंमा निवेदक भण्डारीले दशीका रुपमा आफ्ना मोबाइल ल्याप्टप लगायतका सामग्री फिर्ता पाउँ भन्दै निवेदन दिएका थिए । सोही निवेदनको सम्बन्धमा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाश प्रसाद पण्डितको ईजलाशले दशी प्रमाणको रुपमा रहेका सामग्री अदालतको जिन्सी शाखामा दाखिला गर्न आदेश दिएको थियो ।

 

आदेश अनुसार प्रहरी प्रधान कार्यालयमा अदालतले पत्राचार समेत गरेको छ । तर, पत्राअनुसार प्रमाण नआएपछि प्रहरी प्रधान कार्यालयले छानबीन समिति तयार पारेको हो ।