छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ ईमिलीयामा ना.६ ख ६२७६ नम्बरको ट्रक र बा.प्र.०३–००१ ख १७५१ नम्बरको ट्रक एक आपसको ठक्करबाट मंगलबार बिहान दुर्घटना हुँदा बा.प्र.०३–००१ ख १७५१ नम्बरको ट्रकको सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ ज्ञानसिम्ठा बस्ने २८ वर्षीय अर्जुन घलान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै ट्रकका चालकलाई उपचारको लागि बुटवलतर्फ पठाइएको छ ।

यसैगरी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ग्याल्थुङमा बा.४ ख ८७ नम्बरको आईचर गाडीको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका बराम्चे बस्ने श्याम बहादुर तामाङको छोरा ८ वर्षीय सनिस तामाङ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको मेलम्ची नगर अस्पतालमा उपचारको क्रममा मृत्यु मंगलबार बिहान भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

साथै सर्लाहीको ईश्वरपुर नगरपालिक–९ खोरिया टोलमा ज.२ प ६४५२ नम्बरको मोटरसाइकललाई बीआर ३० ई २४५९ नम्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–२ बबरगंज बस्ने ४५ वर्षीय मनोज महतो रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढ धनुषामा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैसाथ काठमाडौं महानगरपालिका–१४ बल्खुमा लु.१ प ३९८५ नम्बरको हाईड्रो क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला रहेकी छिन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।