छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । भक्तपुरको भक्तपुर नगरपालिका–४ मंगलाछेबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ५ सय २० ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–४ मंगलाछे बस्ने २३ वर्षीय अभी तामाङ रहेका छन् । प्रहरी प्रभाग दरवारस्क्वारबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त गाँजासहित फेला पारी बिहीबार साँझ पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–९ ब्रहमदेबबाट अवैध लागूऔषध चरेस करिब १ सय १० ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने ३६ वर्षीय करन ओड रहेका छन् । ईलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरीको प्रहरीको टोलीले उनलाई उक्त चरेससहित फेला पारी बिहीबार साँझ पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही ठाउँस्थित गणेश बुढाको पसलबाट ल्याएको भन्ने खुल्न आएपछि गणेशलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

साथै बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित एक जना पक्राउ छन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ बानियाभार बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यसैसाथ मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४२ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर हतुवा गढी गाउँपालिका–७ बस्ने २५ वर्षीय प्रकाश राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२४ प ७७९२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी बिहीबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।