नेपालमा लोकतन्त्र छैन, दलतन्त्र छ : प्रभु साह

'समाजवादी मोर्चाको अनौचित्य छैन'

दियो पोस्ट  

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले समाजवादी मोर्चाको कुनै औचित्य नै नभएको बताएका छन् । लोकतन्त्रको कुरा गर्नुको साटो समाजवादको कुरा गरेर जनतालाई ढाट्ने काम भईरहेको उनले बताए ।

वीरगंजमा आज आम विद्यार्थी मोर्चाको अगुवा कार्यकर्तासंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले समाजवादी मोर्चाको औचित्य नभएको बताए । जनतालाई गुमराह बनाउँन कथित समाजवादीको बिषय उठाईएको उनले बताए । ‘नेपालमा लोकतन्त्र छैन, दलतन्त्र छ । जनताको शासनको लागि दलतन्त्र फाल्ने लक्ष्य लिनुपर्नेमा जनतालाई गुमराह बनाउन कथित समाजवादको विषय उठेकोछ’ अध्यक्ष साहले भने, ‘आज लोकतन्त्रको कुरा गर्नुको सट्टा समाजवादको कुरा गर्नु जनतालाई ढाट्नु बाहेक अरु केही पनि होईन । त्यसैले हामी भन्न सकछौ कि अहिले समाजवादी मोर्चाको अनौचित्य छैन ।’

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नेसपा लगायतका दलहरुले समाजवादी मोर्चाको घोषणा गर्दै गर्दा आजपा अध्यक्ष साहले यस्तो टिप्पणी गरेका हुन् । जनतालाई शक्तिशाली बनाएर बिकास, समृद्धि, सुशासनको प्रत्याभुति गराउँन लागुपर्नेमा झुठको खेती गर्नका लागि समाजवादी मोर्चाको हावा फैलाउन लागिएको उनले बताए । आम विद्यार्थी मोर्चाको सो कार्यक्रमबाट मोफसलमा चल्ने यातायाताका सार्वजनिक सवारीसाधनहरुमा बिद्यार्थीलाई ४५ प्रतिशत छुटको व्यवस्था गर्न माग गरिएको छ ।

काठमाडौं उपत्याकामा विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट दिईए पनि उपत्याका बाहिर नदिएकोमा आपती जनाउँदै संघर्षका कार्यक्रम अगाडी बढाउँने निष्कर्ष कार्यक्रमको रहेको छ । यस्तै कार्यक्रममा बिद्यार्थीहरुको अहिलेको बिभिन्न समस्या, शैक्षिक अवस्था, विद्यालय, क्याम्पसको पठनपाठन लगायतका बिषयमा गम्भिर छलफल भएको छ । गुणस्तरीय शिक्षाका लागि आम बिद्यार्थी मोर्चाले संघर्षका बिभिन्न कार्यक्रम गर्ने बताईएको छ ।