छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौंं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बाग्लुङको काठेखोला गाउँपालिका–५ ठुल्ढुङगामा ग.१ च ९४८५ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा गाडीमा सवार जैमिनी नगरपालिका–१० राङखानी घर भई हाल बाग्लुङ नगरपालिका–२ श्रीनगरटोल बस्ने ३७ वर्षीय दुर्गा पौडेल र गाडी चालक पर्वत जलजला गाउँपालिका–६ सालिजा घर भएका ३१ वर्षीय (राजेन्द्र) रामचन्द्र पुन रहेका छन् ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा चाक्ले कुनामा ध.१ ज ९५२ नम्बरको ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमासोही महानगरपालिका–२५ हेम्जा म्याग्दी चोक बस्ने मुस्ताङ घर भएकी १३ वर्षीया रेखा लामघारे रहेकी छिन् । ठक्करबाट गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बा.७० प ९४७४ नम्बरको मोटरसाइकलले ना.६ ख ३०१६ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा बुधबार बिहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार लम्जुङ सुन्दरबजार नगरपालिका–९ बस्ने ५८ वर्षीय चन्द्र बहादुर गुरुङ रहेका छन् । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको आबुँखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।